जनकपुरधाम- नेपालीहरूको दोस्रो महान् चाड तिहार सकिएपछि जनकपुरधामसहित तराई-मधेशमा छठ पर्वको तयारी सुरु भएको छ। तराई-मधेशमा श्रद्धा र आस्थापूर्वक मनाइने लोकपर्व छठको तयारी सुरु भएको हो।
शुद्धता र पवित्रतालाई विशेष ध्यान दिइने छठ पर्वको तयारीमा ब्रतालुका साथै स्थानीय युवा क्लब जुटेका छन्। छठ पर्वमा अर्घ्य दिइने पोखरी, नदी तथा जलाशयहरूको सरसफाइ तथा सरसजावटमा स्थानीय युवा क्लवहरू जुटेका हुन्।
जनकपुरधाममा छठ मनाइने धनुषसागर, गंगासागर, अङ्गराजसर, अग्निकुण्ड, रत्नसागर, बिहारकुण्डलगायतका दर्जनौँ पोखरीमा सरसफाइ तथा सजाउने काम सुरु भएको छ।
स्थानीय युवा क्लबका सदस्यहरू बुधबार सुरु हुने छठ पर्वका लागि घाटहरूको सरसफाइका साथै टेन्ट, झिलिमिली बत्ती लगाउने कार्यमा जुटेका छन्। जनकपुरधामका पोखरीहरूमा मात्रै हजारौँ परिवारले छठ गर्ने गरेका छन्। धार्मिक महत्त्व बोकेका पोखरीका साथै निजी तवरबाट निर्माण गरिएका पोखरीहरूमा छठ हुने गरेको छ।
भव्य ढंगबाट छठ मनाइने गरिए पनि स्थानीय तथा प्रदेश सरकारबाट कुनै प्रकारको सहयोग प्राप्त हुन नसकेको पोखरीहरूमा छठ पर्वको व्यवस्थापन गर्दै आएका युवा क्लबहरूको गुनासो छ।
जनकपुरधामको धनुषसागर पोखरीमा छठ पर्वको व्यवस्थापन गर्दै आएको गणेश युवा कमिटीका अध्यक्ष सन्तोष साहले सयौँ परिवारले छठ गर्ने गरे पनि व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारबाट कुनै सहयोग प्राप्त नभएको बताए।
सरकारका तर्फबाट सहयोग प्राप्त नभएपछि घाटहरूमा टेन्ट, बिजुलीबत्तीलगायतका कार्य व्यवस्थापन गर्न ब्रतालुहरूबाट बाध्यतावश चन्दा लिनुपरेको उनको भनाइ छ।
‘स्थानीय तहको सरकारबाट कुनै सहयोग पाएका छैनौँ, घाटहरूको सरसफाइसमेत हामी आफैँले गर्ने गरेका छौँ,’ साहले भने, ‘प्रदेश र स्थानीय सरकारले सहयोग गरिदिए छठ पर्व गर्ने ब्रतालुबाट चन्दा लिनुपर्ने बाध्यता अन्त्य हुने थियो।’
जनकपुरधामस्थित गंगा सागर, धनुष सागर, अङ्गराजसर, रत्नसागर, बिहारकुण्डलगायतका पोखरीहरू छठ पर्वमा आकर्षणको केन्द्र बन्ने गरेको छ। सन्ध्याकालीन अर्घ्यका लागि घाटमा पु¥याइने पुजा सामग्री रातभर त्यहीँ राखिने भएकाले टेन्ट, बिजुलीबत्तीलगायतका लागि हुने खर्चको व्यवस्थापन गर्न युवा क्लबहरूले प्रत्येक ब्रतालुबाट चार सयदेखि पाँच सय रुपैयाँ चन्दा लिने गरेको छ।
स्थानीय युवा क्लबहरू घाटको सरसफाइ तथा सजाउने कार्यमा जुटिरहँदा छठ पर्वका ब्रतालु तथा परिवारका सदस्यहरू पूजा सामग्रीको बन्दोबस्तमा जुटेका छन्। छठ पर्वको प्रसादका लागि महत्त्वपूर्ण ठानिएको केरा, उखु, नरिवल, गहुँ, चामललगायतका सामग्रीको किनमेलमा ब्रतालु तथा परिवारका सदस्यहरू जुटेका छन्।
छठ पर्वमा फलफूलका साथै बाँसले तयार पारिएको चँगेरी (बाँसको ढाकी), नाङ्गलो, डगरी (सानो आकारको नाङ्गलो), ढकना (माटोले तयार पारिएको भाँडो) लगायतका सामग्री किनमेल गर्न ब्रतालुहरू जुटेका छन्।
सन्याकाली अर्घ्य बिहीबार दिइने भए पनि यसपालिको छठको बिधी मंगलबारबाट सुरू हुँदैछ। ब्रतालुहरू मंगलबार सफा र शुद्ध भए चोखो खानेकुरामात्र खानेछन्। छठको यो विधिलाई नहाएखाए पनि भन्ने गरिन्छ। नहाएखाएको दिनपछि छठ नसकुन्जेल ब्रतालु तथा परिवारका सदस्यहरू माछामासुजस्ता आहार खान बन्द गर्ने गर्दछन्।
त्यसपछि नहाए खाएको दोस्रो दिन खरना मनाइने गरिन्छ। खरनालाई छठको मुख्य विधि पनि भनिन्छ। ब्रतालुहरु दिनभर उपवास बसी शुद्ध पारिएको कोठामा खीर, पुरी, केरासहितका प्रसाद केराको पातमा राखी इश्वरको आरधान गर्ने गर्दछन्।
खरना पूजा सम्पन्न भइसकेपछि सबभन्दा पहिले ब्रतालुले प्रसादग्रहण गरिसकेपछि परिवारका अन्य सदस्य र छिमेकीहरुलाई बाँड्ने गरिन्छ।
छठको तेस्रो दिन अस्ताउँदै गरेको र चौथौ दिन उदाइँदै गरेको सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन हुने छ। अहिले तराई क्षेत्रमा मैथिली तथा भोजपुरी भाषामा बज्ने गरेको छठ पर्वका लोकगीतहरुले छठ आउनै लागेको झल्को दिइरहेको छ।
केही वर्षअघिसम्म तराई-मधेशमा मात्र सीमित रहेको छठ पर्व पछिल्लो समय पहाडका जिल्लाहरूमा श्रद्धापूर्वक मनाउन थालिएको छ।