
काठमाडौँ- नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै आइसीसी त्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिका भ्रमण टुंग्याउँदैछ । चोटका कारण करण केसीले आजको खेल गुमाउने सम्भावना छ ।
अलराउन्डर करण गएराति भएको अमेरिकासँगको खेलका क्रममा घाइते भएका थिए। त्यसैले प्रशिक्षक मोन्टी देसाइले स्कटल्यान्डविरुद्ध उनलाई आराम दिन सक्छन्।
घरेलु टोलीसँगको दोस्रो खेलमा पनि पराजित भएको नेपाल जितका साथ सिरिज अन्त्य गर्ने लक्ष्यमा हुनेछ । अमेरिकासँग पहिलो खेलमा नेपाल तीन विकेट र दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो । स्कटल्यान्डविरुद्ध भने नेपाल तीन ओडिआइ यता अपराजित छ । जारी सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपालले स्कटल्यान्डलाई ४१ दशमवल ४ ओभरमा १ सय ५४ रनमा अल आउट गरेको थियो ।
जवाफमा २९ ओभर ५ वलमा पाँच विकेट गुमाएर नेपालले लक्ष्य भेट्टायो । सो खेलमा आरिफ शेखले अविजित ५१ रनको योगदान गरेका थिए । लिग टु का एघार खेल खेलिसकेको नेपालले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । तालिकाको सातौं स्थानमा रहेको नेपालको मात्र ५ अंक छ । दश खेलबाट १३ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ ।
स्कटल्यान्ड, रोहित पौडलको टिमसँग पहिलो खेलमा बेहोरेको हारको बदला लिने योजनामा छ । टेक्सस डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुने खेल राति सवा १० बजे सुरु हुनेछ ।