बेइजिङ- नदी नाला र हिमालद्वारा जोडिएको नेपाल र चीनबीच प्रागैतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहिआएको छ। बुद्धभद्र तथा फास्यानजस्ता भिक्षुहरूले चारौँ शताब्दीमा कोरेको बाटोलाई पछिल्ला कालमा राजकुमारी भृकुटी, बहुप्रतिभाशाली कलाकार अरनिकोलगायत धेरैले दुई देशबीचको सम्बन्धलाई फराकिलो बनाउन योगदान दिएका थिए।
वर्तमान समयमा पनि अरनिकोको पदचापमा हिँड्दै चीन पुगेका नेपाली प्रतिभाहरू अनगिन्ती छन्। यसरी चीनमा अध्ययन, अनुसन्धान तथा रोजगारका लागि पुगेका नेपालीहरूले वर्षभरिमा आउने नेपाली चाडबाड आफ्नो गछेअनुसार तथा समयअनुकूल मनाउने गरेका छन्।
दसैँतिहारलगायतका चाडपर्व नेपाली परिवारले आफ्नो घरबाहेक भेला भई मनाउने गरेका पनि छन्। विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले यस्ता पर्वहरूमा कार्यक्रमको आयोजनासमेत गर्ने गरेको पाइन्छ। तापनि सीमित कार्यक्रम, समयको प्रतिकूलता तथा निकै कम संख्यामा रहेका नेपाली बीचको पातलो भेटघाट हुँदा भव्य र विशाल रूपमा मनाउन सकेको देखिँदैन।
यसरी नेपालीकै संख्या कम भएको ठाउँमा नेपालका अरू समुदायको उपस्थिति भए तापनि नगन्य हुने नै भयो। यस क्रममा नेवार समुदायका मानिस पनि छन्, तर के कति छन् र कहाँ कहाँ छन् यसको खोजी पनि भएको छैन। तापनि विगत तीन वर्षदेखि नयाँ नेपाल संवत् तथा नेवार समुदायले मनाउने म्हःपूजा भने बेइजिङमा मनाउँदै आएको छ।
विगत तीस/बत्तीस वर्षदेखि बेइजिङमा बस्दै आएका भिभोका ‘फाइभ जी’ इन्जिनियर राकेश ताम्राकारले बेइजिङमा म्हःपूजा मनाउन थालेको तीन वर्ष भएको छ। यसअघि उनको तीस वर्षको बसाइ अवधिमा नेवार समुदायका साथीहरूले मिलेर या कोही परिवार बसे पनि बेइजिङमा म्हःपूजा नगरेको उनी बताउँछन्। उनैसँग सहमत छन्, डाक्टर सुवर्ण डंगोल र इन्जिनियर पविन कर्माचार्य। आफन्तजन मात्र नभई अरूलाई पनि सामेल गराउन सकिने भएकोले अहिलेसम्म बेइजिङमा यो नेवारी परम्परा नमनाएको उनीहरूको दाबी थियो। यी दुई पनि चीन आएको पच्चीस वर्ष बढी भइसकेको छ र दुवैजना चीनका ज्वाइँ हुन्।
यसपटक चाडपर्व मनाउन नमिल्ने भएकाले सुवर्ण भने सरिक भएनन् तर चीनमा अध्ययनरत पाँचजना विद्यार्थीले बेइजिङमा पहिलोपटक म्हःपूजा मनाउन पाएका छन्। बेइजिङ च्याओथोङ युनिभर्सिटीमा अध्ययनरत आदर्श ताम्राकार छाङछुनमा एकवर्षे चिनियाँ भाषा अध्ययन सकाएर हालै बेइजिङ आएका हुन्। उनले म्हःपूजा गर्न पाउँदा घर पुगेको महसुस गरे। ‘मलाई निकै खुसी लाग्यो। गत वर्ष मनाउन पाइएन, यसपटक त म घरमा छु जस्तो लाग्यो’ आदर्शले भने।
बेइजिङ युनिभर्सिटी अफ पोस्ट एन्ड टेलिकम्युनिकेसनमा अध्ययनरत मनोग्य श्रेष्ठ पनि नेवार समुदायको मौलिक चाड चीनमा आएर मनाउन पाउँदा पुलकित भए। उनी भन्छन्, ‘यसरी मण्डप बनाएर पूजाआजा गर्न पाउँदा गौरवान्वित महसुस गरेँ। हामीले यस्तो मौलिक संस्कृतिलाई प्रचार गर्नुपर्छ भन्ने लागेको छ।’
म्हःपूजा नेपाल संवत्अनुसार नयाँ वर्षको पहिलो दिन कछलाथ्व पारु (कार्तिक शुक्ल पक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो। यस पर्वमा नेवारहरूले वर्षभरि चोट नलागोस्, बिरामी नभइयोस्, सुख, शान्ति प्राप्त होस् भनेर आफूले आफैँलाई पूजा गरी सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने गरिन्छ।
मूलतः मानिसको आत्मानै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा रहँदै आएको देखिन्छ। साथै म्हःपूजाले भगवान आफूभित्रै हुने भएकोले अन्त खोज्न जानुपर्दैन भन्ने सन्देश पनि बोकेको छ। यसकालागि आफ्नो प्रतिकात्मक स्वरूप (मण्डः) मण्डलमा चित्रण गरी परिवारका सबै सदस्यहरूसँग एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैँले आफ्नो पूजा गर्ने गरिन्छ। यद्यपि घरपरिवारबाट टाढा रहेमा मूल घरमा म्हःपूजा गर्ने बेला सम्बन्धित व्यक्तिको नाममा मण्डप बनाई पूजा गर्ने चलन रहँदै आएको छ।
यस्तै अनुभव र वातावरणको सम्झनामा यसपटक पनि बेइजिङमा केही साथीभाइ मिलेर म्हःपूजा मनाएका हुन्। खपै प्रान्त पाओतिङ सहरबाट फुड साइन्टिस्ट तथा खपै एग्रिकल्चर युनिभर्सिटीका एशोसिएट प्रोफेसर विमल चित्रकार पनि दुई घण्टा बढीको यात्रा गरी म्हःपूजा मनाउन पुगेका थिए। ‘वर्ष दिनमा आउने चाड साथीभाइसँग मिलेर मनाउन पाउनु सानो कुरा होइन’, उनले भने, ‘यसपटक त शनिबार परेकोले सजिलो भयो अझै, सबैसँग भेटघाट र आफ्नो चलन पछ्याउन पाउनु सौभाग्य नै मान्नुपर्छ।’ उनी नेवारी परम्पराको सगुन (खेँय सँग) सौभाग्यको प्रतीक मान्छन्। ‘यसरी खेँय सँग नयाँ वर्षको पहिलो दिन लिनपाउनु सौभाग्यको प्रतीक हो। आगामी दिनमा अझै बृहत् रूपमा मनाउन सकोस्,’ उनले भने।
राकेशकी पत्नी सबिना भने खेँय सँगलगायत पूजा सामग्री तयार गर्न समय लाग्ने भएकोले धेरै मान्छे जम्मा हुँदा व्यक्तिगत तवरमा गर्न गाह्रो हुने हो कि शंका व्यक्त गर्छिन्। ‘यसरी हामी १/२ परिवार मिलेर मात्र सबैलाई सामेल गर्न गाह्रै हुन्छ नि, काम गर्न सजिलो छैन नि’, उनलाई सही थप्दै राकेश भन्छन्, ‘त्यो प्रश्न त छँदैछ नि, तापनि अहिले तेस्रो वर्ष भइसकेको छ, समूह पनि ठूलो हुँदैछ, केही उपाय होला नि।’
यसपटक तीस वर्षभन्दा अघिदेखि बेइजिङमै बस्दै आएकी नम्रता पाण्डे पनि म्हःपूजामा सरिक भएकी छिन्। ‘सबिनाले अघिल्ला वर्षमा मनाएको थाहा थियो र हाम्रै परम्परा र आफ्नै शरीरको पूजा गर्ने कुरा सुनिरहेकै थिएँ, त्यसकारण यसपटक भाग लिएँ, रमाइलो पनि लाग्यो’ उनले भनिन्।
म्हःपूजालाई सामूहिक रूपमै गर्दै जान पाए राम्रो हुन्थ्यो भन्ने सबैको भनाइ रहेको छ। विमल र राकेश भने नजिकका सहरमा रहेका अरू नेवारलाई पनि सम्मिलित गराउने विचार राख्छन्। ‘सम्भव भए बेइजिङ तथा निकट सहरका अरू नेवार साथीलाई पनि जम्मा गरेर बृहत् रूपमै म्हःपूजा मनाउने योजना बनाउनुपर्छ भन्ने लागेको छ’, विमलले भने।
एउटा संस्था वा समूह बनाएर पैसा सङ्कलन गरेर सार्वजनिक ठाउँमा गर्न सकियो भने नेवार मात्रै होइन इच्छुक सबैले मनाउन पाउनेछन्।
नेवार संस्कृतिलाई विश्वमा नै एउटा समृद्ध संस्कृति मानिन्छ। देश बाहिर पनि धेरै ठाउँमा विभिन्न पर्वदेखि रथजात्रा समेत गरिएको समाचारहरू सुन्न आए तापनि चीनमा चाडपर्व मनाएको विरलै सुनिन्छ। पछिल्लो समय यिऊलगायतका नेपालीहरूको बाक्लो बस्ती भएको शहर र ठाउँमा यसरी पर्वहरू मनाउन थालिएको छ।
विभिन्न निकायको सहयोग र सहकार्यमा नेपाली संस्कृति र चाडपर्व बारे जानकारी दिने तथा सहभागिता गराउने पहल गरिनुपर्छ भन्ने विचार प्रकट गर्दै उपस्थित सबैले नेपाल संवत् ११४५ को अवसरमा भिन्तुना आदानप्रदान गरे।