‘इरानमा रहेका नेपाली सुरक्षित’

हिमाल प्रेस १२ कार्तिक २०८१ २१:००
26
SHARES
‘इरानमा रहेका नेपाली सुरक्षित’ तेहरानमा शनिबार विस्फोटहरू सुनिएपछि देखिएको दृश्य। तस्बिर : एएफपी/रासस

काठमाडौँ- युद्धग्रस्त देश इरानमा कम्तीमा पाँच सयभन्दा बढी नेपाली कार्यरत छन्। यद्यपि नेपालबाट श्रम स्वीकृति लिएर कामदार वैदेशिक रोजगारीका लागि इरान गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा छैन।

इरानमा नेपाली दूतावास नभएकाले इरान मामिला पाकिस्तान र कुवेतस्थित नेपाली दूतावासले हेर्दै आएका छन्। इजरायलले शनिबार इरानको सैन्य इलाकाहरूमा हवाई आक्रमण गरेको थियो। एक महिनाअघि इरानले गरेको आक्रमणको जवाफमा इजरायली सुरक्षा फौजले इरानका सैन्य अखडाहरूमा गरेका हुन्।

इजरायलले गरेको आक्रमणबाट इरानमा रहेका नेपालीहरू सुरक्षित रहेको सूचना पाकिस्तान र कुवेतस्थित नेपाली राजदूतावासले दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। इरानमा रहेका नेपालीको बारेमा कुवेत र पाकिस्तानका दूतावासहरूले जानकारी लिइरहेको उनले बताए।

‘इरानमा कम्तीमा पाँच सय नेपाली छन् भन्ने पाकिस्तानस्थित नेपाली दूतावासको अनुमान छ। त्यहाँ रहेका नेपाली अहिलेसम्म सुरक्षित छन्’, उनले भने। परराष्ट्र मन्त्रालले इजरायल, लेबनान र इरानमा रहेका नेपाली समस्यामा परे सम्बन्धित देशका दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।

विभागका अनुसार इराकको बग्दाद, कुर्दिस्तानलगायतका क्षेत्रमा धेरै नेपाली कार्यरत छन्। इरानमा कुवेत, यूएई, कतार र बहराइन हुँदै नेपाली महिला कामदार जाने गरेको वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले बताए। उनले इरानमा श्रम स्वीकृति लिएर नेपाली गएका छैनन्।

‘खाडीका देश गएका नेपाली रोजगारीका लागि इरान पुगेका हुन सक्छन्। नेपालबाट श्रम स्वीकृति लिएर गएको तथ्यांक भने छैन’, उनले भने। कतार, यूएई, साउदी र कुवेत हुँदै नेपाली कामदार इरान जाने गरेको विभागको अनुमान छ।

पश्चिम एसियामा उत्पन्न तनावको प्रभाव खाडीमा देशमा देखिन थालेको छ। वैदेशिक रोजगारविज्ञ जीवन बानियाँ इजरायल, लेबनान र इरानमा भइरहेको युद्धले कुनै दिन अर्के अवस्था आउन सक्छ। यस्तो विषयमा नेपाली नागरिक सुरक्षित छन् भनेर सरकार बस्न नहुने उनले बताए। ‘मध्यपूर्वको अवस्था युद्धतिर धकेलिने देखेपछि अन्य देशले इजरायल, लेबनान र इरानमा रहेका आफ्ना नागरिक फकाउँदैछन्। नेपालले भने सुरक्षित छन् भन्दै बसेको छ’, उनले भने।

प्रकाशित: १२ कार्तिक २०८१ २१:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =