रास्वपाले फेर्‍यो प्रदर्शनको तरिका

हिमाल प्रेस ९ कार्तिक २०८१ १३:०१
28
SHARES
रास्वपाले फेर्‍यो प्रदर्शनको तरिका फाइल तस्बिर

पोखरा– न्यायिक हिरासतमा रहेका आफ्ना सभापतिको रिहाइको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ६ दिनसम्म पोखरामा विरोध प्रदर्शन गरेपछि शुक्रबारदेखि काठमाडौँकेन्द्रित आन्दोलन गर्दैछ। दिउँसो १ बजे काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने रास्वपाले बिहीबार नै पत्रकार सम्मेलन गरी जनाएको हो।

यता, पोखराको आन्दोलन भने धर्नामा परिणत हुने भएको छ। पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा दिउँसो ३ देखि ५ बजेसम्म शान्तिपूर्ण धर्ना दिइने उसको तयारी छ। रास्वपा कास्की जिल्ला अध्यक्ष योगराज पौडेलले काठमाडौँ केन्द्रित आन्दोलन हुने भए पनि आफूहरूले पोखरामा शान्तिपूर्ण धर्नालाई जारी राख्ने जनाए। सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि गत साता पक्राउ परेका रास्वपा रवि लामिछानेलाई बिहीबार अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको छ। उनलाई आइतबार पहिलोपल्ट ६ दिन म्याद थपेर हिरासतमा राखिएकोमा बिहीबार दोस्रो पल्ट म्याद थप भएको हो।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेसहित गोर्खा मिडियाका पूर्व संचालक पूर्व डिआईजी छविलाल जोशीसमेतलाई उक्त मुद्दामा अनुसन्धानका लागि थप ७ दिन म्याद थप गरेको हो। सोही प्रकरणमा पक्राउ परेकी लीला पछाईलाई पनि ७ दिन नै म्याद थप भएको छ।

उता, रुपन्देही जिल्ला अदालतले रास्वपा सभापति लामिछाने, गोर्खा मिडियाका अध्यक्ष जीबी राई, पूर्व संचालक पूर्व डिआईजी जोशीसमेत १२ जनालाई त्यहाँको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरेको छ।

अघिल्लो शुक्रबार कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ पूर्जी जारी गरेबमोजिम उनलाई काठमाडैंबाट पक्राउ गरी पोखरा ल्याइएको थियो। राजनीतिक प्रतिशोधका कारण उनलाई पक्राउ गरिएको दाबी गर्दै शनिबारदेखि नै रास्वपाको सिंगो नेतृत्व नै पोखरा आएर लगातार आन्दोलन गरेको थियो।

शान्तिपूर्ण आन्दोलन भनिए पनि लामिछानेलाई अदालतमा उपस्थित गराउने दिन भने सहकारीपीडित तथा रास्वपाका छुट्टाछुट्टै विरोध प्रदर्शनले पोखराको जनजीवन प्रभावित बन्यो। प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा समेत हानेको थियो। स्थानीय प्रशासनले पोखराको सहिदचोक तथा गैह्रापाटन क्षेत्रमा लगाउको अनिश्चितकालीन निषेधाज्ञा पनि कायमै छ।

प्रकाशित: ९ कार्तिक २०८१ १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eighteen =