ललितपुर महानगरले बाढी प्रभावित ६ पालिकालाई आर्थिक सहयोग गर्ने

हिमाल प्रेस ७ कार्तिक २०८१ २०:२०
18
SHARES
ललितपुर महानगरले बाढी प्रभावित ६ पालिकालाई आर्थिक सहयोग गर्ने

ललितपुर- ललितपुर महानगरले बाढी प्रभावित ६ वटा पालिकालाई साढे तीन करोड राहत सहायता रकम दिने भएको छ।

ललितपुर महानगरको बुधबार बसेको कार्यपालिका बैठकले ललितपुर जिल्लाका गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, बागमती गाउँपालिका, महाङ्काल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिकालाई ५०/५० लाख दिने निर्णय गरेको हो।

त्यसै गरी बैठकले दक्षिणकाली नगरपालिकालाई एक करोड दिने निर्णय गरेको छ। असोजको दोस्रो साता गएको बाढी पहिरोबाट यी पालिकामा धेरै जनधनको क्षति भएको छ। भौतिक पूर्वाधार भत्किएका छन्। पानीको मुहानमा अवरोध पुगेको छ। पानीको पाइप भाँचिएका, परिएका र थिचिएका छन्।

ललितपुर महानगरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विपद् व्यवस्थापनमा सहयोग पुगोस् भनेर सहयोग गरेका हौँ।’

ललितपुरको दक्षिण भेगमा अवस्थित गोदावरी नगरपालिका, महाङ्काल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिकालाई संघीय सरकारले विपद् संकटग्रस्त पालिका घोषणा गरेको छ। महानगरका प्रमुख चिरीबाबु महर्जनले अभिभावकत्व ग्रहण गर्दै अप्ठ्यारो परेको बेलामा सहयोग गरेको बताए। उनले भने, ‘यो सहयोगले बिग्रिएका, भत्किएका संरचना पुनर्निर्माण गर्न र जनजीवन सहज बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ।’

प्रकाशित: ७ कार्तिक २०८१ २०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =