५४१६ मिटर उचाइमा रहेको थोराङमा फोहोर थुप्रिएपछि गरियो सरसफाइ

हिमाल प्रेस ७ कार्तिक २०८१ १९:५१
48
SHARES
५४१६ मिटर उचाइमा रहेको थोराङमा फोहोर थुप्रिएपछि गरियो सरसफाइ

म्याग्दी- विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेको थोराङमा सरसफाइ गरिएको छ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला प्रहरी कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको समन्वयमा समुद्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा रहेको थोराङमा सरसफाइ गरिएको हो।

वारागुङ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाका प्रवत्ता प्रमेश गुरुङले मुक्तिनाथदेखि थोराङ फेदीदेखि थोराङ पाससम्म पदयात्रीहरूले फालेका फोहर संकलन र व्यवस्थापन गरिएको जानकारी दिए।

पदयात्रीहरूको आकर्षण बढेको थोराङको आश्रयस्थलहरूमा थुप्रिएको पलास्टिक, सिसाजन्य फोहरका कारण प्रदूषण बढेपछि सरसफाइ गरिएको उनको भनाइ छ। कुहिने फोहरलाई खाडल खनेर गाडेको र पलास्टिकजन्य फोहरलाई जलाएर नष्ट गरेको उनले बताए।

सिसा र धातुजन्य नकुहिने फोहर बोकेर मुक्तिनाथ ल्याएर व्यवस्थापन गरिएको छ। करिब २५ देखि ३० बोरा फोहर व्यवस्थापन गरिएको प्रवक्ता गुरुङले बताए।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीलगायत ४५ जना जनप्रतिनिधि, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र स्थानीयवासीको टोलीले सरसफाइका लागि मंगलबार थोराङ पुगेर आज (बुधबार) फर्किएको हो।

सरसफाइ टोलीले पदयात्री र पथप्रर्दशकसँग फोहरको सुरक्षित व्यवस्थापनका लागि सचेतनामूलक कार्यक्रम गरेको थियो। अन्नपूर्ण संरक्षण आयोजनाले थोराङमा बनाएको फोहर राख्ने घर भरिएको छ।

गण्डकी प्रदेशको लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेकाले थोराङलाई साहासिक गन्तव्य मानिन्छ। मनमोहक हिमशृङ्खला, विविधतायुक्त भूगोल, संस्कृति, रहनहसन, धार्मिक तथा वस्तुकला अवलोकन गर्न पाउनु थोराङपासको विशेषता हुन्।

आर्थिक वर्ष २०८०/८१ मा १३ हजार नौ सय १० जना विदेशी पर्यटकले थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आएका थिए। चालु आवको साउनदेखि असोज तेस्रो हप्तासम्म थोराङ्ला पार गरेर मुस्ताङ आउने विदेशी पर्यटकको सङ्ख्या दुई हजारभन्दा बढी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो।

प्रकाशित: ७ कार्तिक २०८१ १९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =