फ्लाई दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै

हिमाल प्रेस ६ कार्तिक २०८१ २१:१८
10
SHARES
फ्लाई दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै

काठमाडौँ- दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि मुलुकको दोस्रो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ।

फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ उडानका लागि आज (मंगलबार) देखि बुकिङ खुलाएको छ। सो कम्पनीको नेपालस्थित आधिकारिक एजेन्ट (जीएसए) युनिभर्सल टुर्स एण्ड ट्राभल्स रहेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईको विमान दिउँसो १ः४५ मा भैरहवा र २ः४५ मा काठमाडौँ आउनेछ। काठमाडौँमा एक घण्टा ‘टेक्निकल ल्याण्ड’ गरेर दुबई उड्नेछ।

फ्लाई दुबईले भैरहवा विमानस्थलमा यात्रु ओरालेर त्यहाँबाट विदेश जाने यात्रुलाई ल्याएर काठमाडौँमा एक घण्टा रोकेर दुबई उड्ने गरी प्राधिकरणबाट अनुमति पाएको छ। टिकट र थप जानकारीलाई फ्लाई दुबईको वेबसाइटमा सम्पर्क गर्न सकिने जनाइएको छ।

यस विमानस्थलमा कम्पनीको पहिलो उडान हो। हप्ताको सातै दिन दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो। यससँगै फलाई दुबईको उडान गन्तव्य सङ्ख्या एक सय १३ पुगेको छ भने ५३ देशमा यसको सेवा विस्तार भएको छ।

यसैबीच फलाइ दुबईको उडान सञ्चालन टीमले पनि हालै विमानस्थलको भ्रमण गरेको महाप्रबन्धक तिवारीले बताए।

यस्तै जजिरा एयरले पनि कात्तिक १२ गतेदेखि पुनःउडान सञ्चालन गर्दैछ। यसअघि १० महिना उडान गरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनःसोही विमानस्थलमा उडान सुरु गर्न लागेको जनाइएको छ। जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ।

जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने गरी अनुमति पाएको विमानस्थलले जनाएको छ। दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो। प्राविधिक कारण देखाउँदै १० महिनापछि उडान स्थगित गरिएको थियो।

त्यसै गरी थाई एयर एसियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको छ। उक्त एयरलाइन्सको प्राविधिक टोलीले हालै गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो। -रासस

प्रकाशित: ६ कार्तिक २०८१ २१:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =