अध्यक्ष लामिछानेको गिरफ्तारी राजनीतिक प्रतिशोध : रास्वपा

हिमाल प्रेस ३ कार्तिक २०८१ १७:५४
14
SHARES
अध्यक्ष लामिछानेको गिरफ्तारी राजनीतिक प्रतिशोध : रास्वपा

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले पार्टी अध्यक्ष रवि लामिछानेको पक्राउ राजनीतिक प्रतिशोध भएको बताएका छन्। उनीहरुले सरकार भ्रष्ट भए पनि अदालतले निष्पक्ष छानबिन गरी तत्काल रिहाइ गर्ने दाबी गरे।

सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि शुक्रबार काठमाडौंमा पक्राउ परी रातारात पोखरा ल्याइएका रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ।

उनको पक्राउको विरोधमा रास्वपाले काठमाडौंसहित पोखरामा पनि विरोध प्रदर्शन गरेको हो। पोखरा चिप्लेढुंगास्थित मानवअधिकार चोकमा शनिबार भएको विरोध प्रदर्शनमा बोल्दै पार्टीका नेताहरुले ‘बूढी मरीभन्दा पनि काल पल्केको’ संज्ञा दिँदै सरकार मरिसकेको र उसको दिनगन्ति सुरु भएको दाबी गरे।

पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले ८४ को चुनावमा आफू हारिने डरले अत्तालिएर कांग्रेस–एमाले गठबन्धनको सरकारले रास्वपाको अभियान दबाउन यो हर्कत गरेको आरोप लगाए।

उनले भने, ‘सरकार एउटा भन्छ तर काम अर्कै गर्ने भएपछि कसैको केही लाग्दैन। पुराना दलहरुको कार्यशैलीका कारण जनतामा चरम निराशा छाएको छ। उनीहरुको आशा धिपधिपमात्र बोलिरहेको छ। तर, यो आशा निभ्न दिनुहुन्न। हामी हरेश खाएका छैनौं। ८४ को चुनावमा अझ सशक्त हुनेछौं।’

कांग्रेस र एमालेले ल्याएको भन्दा तेब्बर मत आफूहरूले ८४ को चुनावमा ल्याउने दाबी उनले गरे।

अर्थशास्त्री समेत रहेको प्रतिनिधिसभा सदसस्य वाग्ले भने्, ‘अहिले कांग्रेस र एमालेको मत जोडे पनि ५५ लाख मात्र हुन्छ। हामीहरुको अहिले नै १२ लाख मत आयो। ८४ मा तेब्बर मत आए पुराना दल बढारिने छन्।’

उनले सूर्य थापा संयोजकत्वको सहकारी छानबिन संसदीय समितिले अध्यक्ष लामिछाने सहकारीको रकम ल्याउने कार्यमा संलग्न नरहेको स्पष्ट बताइसक्दा समेत कम्पनी ऐन आकर्षित हुनेमा अनेकथरीक मुद्दा मामिलामा फसाउन लागेको आरोप लगाए।

अर्का उपसभापति डीपी अर्यालले ८४ को चुनावमा हारिने डरले पार्टी सभापतिलाई जाक्न पाए, रास्वपा सकिन्छ भन्ने मनशायले यो हर्कत गरेको दाबी गरे। पोखरामा जनताको लहर देखेको भन्दै उनले यो अभियान सुरु भएको बताए।

लामिछानेको सहकारीमा कुनै पनि लेनादेना नभए पनि राजनीतिक प्रतिशोधनस्वरुप पक्राउ गरिएको उनले जिकिर गरे।

उनले भने, ‘दुइतिहाइको दम्भ देखियो। भर्खरै गएको बाढीपहिरोले सरकार कहाँ छ भन्ने देखियो। अध्यक्षको पक्राउसँगै सरकार मरिसक्यो। तर, हामीलाई न्यायालयको विश्वास छ।’

पार्टीका कार्यवाहप्रवक्ता मनीष झाले पार्टी अध्यक्ष रवि लामिछानेले देशका लागि बलिदानी दिन तयार भइरहँदा आपूm पनि सहिद हुन तयार रहेको उद्घोष गरे।

उनले एमाले, कांग्रेसका एउटा पनि नेताले आफ्नो पार्टीमा यो राज्यको सम्पत्ति तथा करदाताको कर दोहन नगरेको भनी भन्न सक्छ? भनी चुनौती दिए।

उनले एउटा खुलासा गर्छु भन्दै भने, ‘यो देशमा १५÷२० वटा यस्तो बिचौलिया समूह छ, त्यसले देश चलाइरहेको छ। तीमध्येको एक हो–कान्तिपुर। हाम्रो के छ खोट? भन। हामीहरु भनेको दुईचारवटा विषयमा मास्टर्स गरेर, उद्यम छोडेर यो देशमा राजनीति गरी देश बनाउन आएको हो। अनि हामीहरुलाई उल्टै प्रश्न सोध्ने?’

रवि लामिछानेले पक्राउको बेलामा भनेको भनाइ उद्घृत गर्दै भने, ‘रवि दाइले आफूलाई जीवित छोडे भने म यी भ्रष्टहरुलाई त्यसै छोड्दिनँ भन्नुभएको छ। यदि रवि दाइ मर्न तयार हुनुहुन्छ भने म पनि मर्न तयार छु। के रगत चाहिएको हो? म सहिद हुन तयार छु।’

पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले यो सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए। उनले केपी ओली सरकारले रवि लामिछानेको परिवर्तनको अभियानलाई दबाउने प्रयास गरेको बताए।

उनले लामिछानेको रिहाइको लागि उभिएको नभई, विभिन्न सहकारीको ८७ अर्ब रुपैयाँ बचतकर्तालाई फिर्ता गराउने अभियानमा शंखघोष गर्दै उभिएको बताए।

उनले भने, ‘महामहिम प्रधानमन्त्री कमरेड, एकैछिन शिलान्यास गरेर मीनबहादुर गुरुङको १० रोपनी जग्गा पचाउनुहोला, तर बालुवाटार काण्डको ठगलाई बचाउन दिँदैनौं।’

उनले आफ्नो आन्दोलन कहीँ कतै अराजक नहुने स्पष्ट पारे। उनले नेपाल प्रहरीप्रति पनि संयमित हुन आग्रह गर्दै भने, ‘नेपाल प्रहरी भनेको हतियार हुन् रवि लामिछाने गृहमन्त्री बन्दा कैशास शिरोहियाहरु पक्राउ पर्छन्, बेचन झाहरु पक्राउ पर्छन्। केपी ओली प्रधानमन्त्री बन्दा फेसबुकमा लेख्नेहरु पक्राउ पर्छन्। त्यसैले हतियारको दोष हुँदैन, चलाउनेको दोष हुन्छ।’

कार्यक्रममा अर्का नेता हरि ढकालले न्यायालयहरुप्रति विश्वास गर्ने भन्दै रवि लामिछाने तत्काल रिहाइ हुने बताए। उनले लामिछानेको रिहाइसँगै ८४ को चुनावमा सबै पुराना दल लखेटिने दाबी गरे।

डा. तोषिमा कार्कीले ओली सरकारको सय दिनको उपलब्धि के हो? भन्ने प्रश्न गरिन्। उनले पूरै सरकारी संयन्त्र लागेर पार्टी अध्यक्ष लामिछानेलाई पक्राउ गरिएको भन्दै चर्को विरोध गरिन्। भर्खरै आएको बाढीपहिरोले धेरै मानिसको बेहाल भएको उल्लेख गर्दै त्यसतर्फ ध्यान नदिएर सरकार जनताको ध्यान डाइभर्ट गर्न यो कार्यमा लागेको आरोप लगाइन्।

विरोधसभामा पार्टी सहअध्यक्ष दीपक बोहोरा, केन्द्रीय सदस्य शिव नेपालीलगायत केन्द्रीयस्तरका सबैजसो नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो।

विरोधसभापछि जुलुस बीपीचोक, महेन्द्रपुलसम्म पुगेकोमा गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय अगाडि जान भने प्रहरीले रोकेको थियो। नेताहरुले विरोध प्रदर्शन अराजक हुन नदिने भन्दै कार्यकर्तालाई संयमित हुन पटक पटक आग्रह गरिरहेका थिए।
विरोधमा रास्वपाले पार्टीको झण्डा तथा चुनाव चिन्ह अंकित कुनै पनि चिज प्रदर्शन गरेन। बेलाबेलामा भने ‘केपी ओली राजीनामा दे’ लगायत चर्का नाराबाजी गरिरहेको थियो।

काठमाडौं, चितवन, कास्की र छिमेकी जिल्लाबाट रास्वपाका जिल्लास्तरका नेता तथा कार्यकर्ताहरु पोखरा आएका छन्। रास्वपाले आइतबार मध्याह्न पनि सहिदचोकस्थित कास्की जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालय परिसरमा विरोध प्रदर्शन गर्ने जनाएको छ।

लामिछानेमाथि पोखरामा प्रधान कार्यालय रहेको सूर्यदर्शन सहकारीसहित विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोप छ। उनलाई सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका गर्न कास्की जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पक्राउ पूर्जीको अनुमति लिएसँगै सिआईबी सहयोगमा काठमाडौंबाट पक्राउ गरिएको हो।

लामिछानेलाई रातारात पोखरा ल्याएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको स्वास्थ परीक्षण गरी राति करिब ३ बजेदेखि प्रहरी हिरासतमा राखिएको हो। शनिबार सार्वजनिक बिदा परेकाले म्याद थपका लागि आइतबारमात्र कास्की जिल्ला अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वसन्तराज शर्माले बताए।

पार्टी अध्यक्ष लामिछानेलाई प्रहरी हिरासतमा राखिएपछि पोखरा ४, गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालयमा भने रास्वपाका नेता तथा कार्यकर्ताको शनिबार बिहानदेखि नै चहलपहल छ।

सम्भावित अप्रिय घटना हुन नदिन प्रहरी कार्यालय परिसर, जिल्ला अदालत, सिडियो कार्यालय तथा पोखराका मुख्य चोकचोकमा ठूलो संख्यामा प्रहरी परिचालित छ। त्यस खण्ड हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई समेत चेकजाँच गरिएको छ। सवारी साधन रोकेर सोधपुछ गर्ने गरिएको छ।

प्रकाशित: ३ कार्तिक २०८१ १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nine =