माथिल्लो तामाकोशी आंशिकरूपमा सञ्चालन गर्ने तयारी

हिमाल प्रेस ३ कार्तिक २०८१ ८:३३
8
SHARES
माथिल्लो तामाकोशी आंशिकरूपमा सञ्चालन गर्ने तयारी

दोलखा- दोलखामा रहेको चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आंशिकरूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

गत असोज ११ र १२ गते अविरल वर्षाका कारण बाढी र पहिरोले बाँध क्षेत्रका संरचना हेडवर्क्समा क्षति पुर्‍याएपछि बन्द भएको उक्त आयोजना मर्मत सम्भार गरेर आंशिकरुपमा सञ्चालनको तयारी भइरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले जानकारी दिए।

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध नजिकैको भवन पहिरोले पुरिँदा चार जनाको मृत्युसमेत भएको थियो। पहिरो हटाउने काम थालिएको उनले बताए। आयोजनाका प्रमुख कार्यकारी अधिकृत गौतमका अनुसार प्रवेशमार्ग काभ्रेभीर सडकमा क्षति पुगेका कारण बाँधस्थलमा उपकरण लैजान कठिनाइ भएको छ।

यसबाट मर्मत गर्न समय लागेको उनको भनाइ छ। बाँधमा थुप्रिएको ढुंगा, बालुवा, गिट्टीलगायत सामग्री सफा गर्ने काम सकिएपछि बाँध मर्मत कार्य अघि बढाइने छ। ‘तिहार लगत्तै विद्युुत् उत्पादन थाल्छौँ’, उनले भने। बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी, नहरलगायत संरचनामा क्षति पुगेको छ। पहिरोले विभिन्न संरचनामा अत्यधिक क्षति पुर्‍याएपछि विद्युत् पुरै उत्पादनमा समय लाग्ने आयोजनाले जनाएको छ।

विद्युत्गृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलामा बाढी आएका कारण आवतजावत गर्न समस्या भएको आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत गौतमले बताए। पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुंगा र लेदो थुप्रिएको छ। बाढी पहिरोबाट दुई अर्बको क्षति भएको बताइएको छ।

विद्युत् उत्पादन बन्द हुँदा दैनिक रु चार करोड आम्दानी गुमाउनु परेको आयोजनाले जनाएको छ। आयोजनाको सम्पूर्ण मर्मत कार्य सम्पन्न गर्न कम्तीमा ६ महिना लाग्ने अनुमान गरिएको छ। रासस

प्रकाशित: ३ कार्तिक २०८१ ८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast