महिला टी–२० विश्वकप : सेमिफाइनलमा पुग्न अस्ट्रेलियालाई हराउनैपर्ने दबाबमा भारत

हिमाल प्रेस २७ असोज २०८१ १२:४३ | Sunday, October 13, 2024
महिला टी–२० विश्वकप : सेमिफाइनलमा पुग्न अस्ट्रेलियालाई हराउनैपर्ने दबाबमा भारत

काठमाडौँ – महिला टी–२० विश्वकप २०२४ अन्तर्गत आइतबार भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। समूह चरणको अन्तिम खेलमा भारतले प्रतियोगिताको मजबुत टोली ठानिएको अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो।

साँझ शारजाहमा दुवै देशबीच प्रतिस्पर्धा हुनेछ। सेमिफाइनलमा स्थान पक्का गर्न अस्ट्रेलियालाई हराउनैपर्ने दबाबमा भारतीय टोली हुनेछ।

शनिबार श्रीलंकाविरूद्धको खेलमा न्युजिल्यान्डले आठ विकेटको जित दर्ज गर्दै रनरेट पनि सुधार गरेकोले अस्ट्रेलियालाई पराजित गर्नैपर्ने दबाबमा भारतीय टोली परेको हो। एकै समूहमा रहेका भारत र न्युजिल्यान्डको समान ४–४ अंक रहेको छ।

यद्यपि न्युजिल्यान्डको रनरेट अहिले पनि भारतको भन्दा कम छ। समूह ‘ए’ मा सबै खेल जितेको अस्ट्रेलिया पहिलो स्थानमा छँदा भारत दोस्रो र न्युजिल्यान्ड तेस्रो स्थानमा रहेको छ।

त्यस्तै यही समूहमा रहेको पाकिस्तान टिम चौथौँ र श्रीलंका पाँचौँ स्थानमा छ। श्रीलंका भने सेमिफाइनलको रेसबाट बाहिरिएको छ।

महिला टी–२० विश्वकपमा ‘ए’ र ‘बी’ गरी दुई समूह बनाइएको छ। दुवै समूहबाट २–२ टिम सेमिफाइनलमा पुग्नेछन्।

समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्ने लडाइँ रोमाञ्चक मोडमा पुगेको छ। किनभने आज भारतले अस्ट्रेलियालाई पराजित गरे ६ अंकका साथ सेमिफाइनलमा उसको स्थान पक्का हुनेछ।

यदि भारत यो म्याचमा पराजित भए सेमिफाइनलमा पुग्न न्युजिल्यान्डले पाकिस्तानविरूद्धको खेलमा फराकिलो अन्तरले जित हासिल गर्नुपर्ने हुन्छ।

भारत र न्युजिल्यान्ड दुवै आफ्नो खेल जिते वा हारे नेट रनरेटका आधारमा सेमिफाइनलमा पुग्ने टिमको निधो लाग्ने छ। अहिले भारतको नेट रनरेट न्युजिल्यान्डभन्दा राम्रो देखिएको छ।

प्रकाशित: २७ असोज २०८१ १२:४३ | Sunday, October 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast