काठमाडौँ– जलवायु विज्ञहरुले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल भएको बताएका छन्। यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूले बताएका छन्।
जलवायुविद् मञ्जित ढकाल मनसुन ढिलागरी बाहिरिनुलाई मनसुन प्रणलीमा भएको फेरबदल ठान्छिन्। यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उनको विश्लेषण छ। यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उनी जोड दिन्छिन्।
उनले दिगो विकासका लागि जलवायुमैत्री विकासको अवधारणा कार्यन्वयन गर्न आवश्यक भएको बताइन्। ‘जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथामिकता दिन अपरिहार्य भएको छ,’ उनले भनिन्,।
मौसमविद् विष्णु घिमिरे पनि मनसुन प्रणाली ढिलो टुङ्गिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्नेमा जोड दिन्छन्। जलवायु परिवर्र्तनको असरका कारण मनसुन प्रक्रियामा तलमाथि भएको हुनसक्ने उनको बुझाइ छ।