रहेनन् चर्चित उद्योगपति रतन टाटा

हिमाल प्रेस २४ असोज २०८१ ६:३६
38
SHARES
रहेनन् चर्चित उद्योगपति रतन टाटा रतन टाटा। तस्बिर : एक्स

काठमाडौँ- भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। केही दिनदेखि उपचार गराइरहेका टाटाको बुधबार मुम्बईस्थित एक अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। टाटा सन्सका अध्यक्ष एन चन्दशेखरनले टाटा समूहका तर्फबाट सूचना जारी गर्दै रतनको निधन भएको पुष्टि गरेका हुन्।

भारत सरकारबाट पद्मभूषणले सम्मानित रतनको निधनमा भारतीय नेता, उद्योगपति, सेलिब्रेटिजसहित विश्वभरका उनका प्र्रशंसकले श्रद्धाञ्जली अर्पण गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटा दूरदर्शी व्यापारी र असाधारण व्यक्ति रहेको उल्लेख गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले व्यापार र परोपकारी क्षेत्रमा रतनको विशेष योगदान रहेको स्मरण गरेका छन्।

भारतमा पहिलो पटक पूर्ण रूपमा निर्मित कार उत्पादन सुरु गर्ने श्रेय पनि रतनलाई जान्छ। पहिलो पूर्णतया स्वदेशी रूपमा निर्मित कारको नाम टाटा इन्डिका थियो। विश्वकै सस्तो कार टाटा नानो बनाउने उपलब्धि पनि उनको नाममा छ। रतनको नेतृत्वमा टाटा समूहले ल्यान्ड रोभर र जगुआर खरिद गरेर अन्तर्राष्ट्रिय रुपमा चर्चा बटुलेको थियो।

६ महादेशका १०० भन्दा बढी देशमा सञ्चालित कम्पनीको प्रमुख भए पनि टाटा सादगीपूर्ण जीवन बिताउन रुचाउँथे। उनको व्यक्तित्वको यही पक्षका कारण उद्योगपति टाटालाई ‘धर्मनिरपेक्ष जीवित सन्त’ का रूपमा चिनिन्छन्।

रतनको जम्म सन् १९३७ डिसेम्बर २८ मा भएको थियो। उनी १९९१ देखि २०१२ सम्म टाटा ग्रुपका अध्यक्ष थिए। उनले व्यापारिक क्षेत्रमा कैयौँ कीर्तिमान राखेको नवभारत टाइम्सले उल्लेख गरेको छ।

महाराष्ट्र सरकारले रतनको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने भएको छ। मुख्यमन्त्री एकनाथ सिन्धेले उनको पार्थिव शरीर बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म दक्षिण मुम्बईस्थित राष्ट्रिय कला केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने जनाएका छन्।

झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले रतनको निधनमा एक दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेका छन्।

प्रकाशित: २४ असोज २०८१ ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 12 =