मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना

हिमाल प्रेस २० असोज २०८१ २३:०५
12
SHARES
मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना

पोखरा– पोखराको चिप्लेढुंगास्थित मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालय, कास्कीले भोजनालयले अर्डरबमोजिम खाजा नल्याएको भन्दै उक्त रकम बराबरको जरिवाना गराएको हो।

आइतबार प्रशासन कार्यालयमा शिक्षा विकास तथा समन्वय इकाइ, पोखराको आयोजनामा लागुऔषधसम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको थियो। सो कार्यक्रममा सहभागीलाई खाजा खुवाउन उक्त भोजनालयबाट अर्डर गरिएकोमा भोजनालयले अर्डरबमोजिम वस्तु उपलब्ध नगरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ खण्ड (ङ) बमोजिम कसूर गरेको पाइएकाले कारबाही गरिएको प्रशासनले जनाएको छ।

खाजाको प्याकेटमा समोसा, मिठाई, फ्रुटी खानेकुरा राख्नू भनी पेश्कीसमेत भुक्तानी भएकामा प्याकेटमा फ्रुटी तथा मिठाई नराखेको र संचालकलाई कारण सोध्दा चित्तबुझ्दो जवाफ नदिएकाले कारबाही गरिएको बताइएको छ।

प्रशासनले जारी गरेको विज्ञप्तिमा, ‘…उपलब्ध गारएको खाजा सम्बन्धमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसूर गरेको पाइएकोले उक्त भोजनालयलाई सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम २ लाख रुपैयाँ जरिवाना गरिएको’ उल्लेख छ।

उक्त उपदफामा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिणाम, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी लुकाइछिपाइ वा झुक्याइ त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्ने, कुनै वस्तुको कृत्रिम अभाव सृजना, जम्माखोरी गर्ने वा बिक्री गर्ने, बिक्री गरेको वस्तु वा सेवाको बिल वा बिजक जारी गर्न इन्कार गर्ने वा बिल वा बिजक जारी नगर्ने वा बिल बिजक जारी गर्दा थप रकमा माग गर्ने, उपभोग्य गरिसक्नुपर्ने अवधि व्यतित भइसकेको उपभोग्य वस्तु वा उपभोग्य गर्न नमिल्ने वस्तुमा नयाँ लेबल लगाई त्यस्तो वस्तु बिक्री गरे २ लाखदेखि ३ लाखसम्म जरिवाना लाग्ने उल्लेख छ।

प्रकाशित: २० असोज २०८१ २३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =