गभर्नर अधिकारीमाथि छानबिन गर्न गठित जाँचबुझ समिति प्रधानमन्त्रीले ओलीले गरिदिए रद्द

हिमाल प्रेस २० असोज २०८१ १७:३५
28
SHARES
गभर्नर अधिकारीमाथि छानबिन गर्न गठित जाँचबुझ समिति प्रधानमन्त्रीले ओलीले गरिदिए रद्द फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्नका लागि बनाइएको जाँचबुझ समिति रद्द गरिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त जाँचबुझ समिति साढे दुई वर्षपछि रद्द गरेको हो।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नै अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो। अहिले उनै नेतृत्वको मन्त्रिपरिषद्ले समिति रद्द गरेको हो।

दुई वर्षअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि छानबिन समिति गठन गरेको थियो।

देउवा नेतृत्वको सरकारले गभर्नर पदबाट हटाउन छानबिन समिति गठन गरेको थियो। छानबिन समिति गठन भएसँगै निलम्बनमा परे पनि सर्वोच्च अदालतले छानबिन प्रक्रिया रोक्न आदेश दिएपछि अधिकारीले निरन्तरता पाएका थिए।

देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०७८ चैत १४ गते अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरेको थियो। अधिकारीले निरन्तरता पाए पनि मन्त्रिपरिषद्को निर्णय भने हेरफेर भएको थिएन।

गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनेको थियो। समिति सदस्यमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल थिए। समितिलाई एक महिनाभित्र छानबिन प्रतिवेदन बुझाउन भनिए पनि साढे दुई वर्षसम्म राजनीतिक दबाबमा बुझाउन सकेको थिए।

प्रकाशित: २० असोज २०८१ १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 11 =