काठमाडौँ- महिला टी–२० विश्वकपअन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई १० विकेटले पराजित गरेको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी प्रतियोगितामा शुक्रबार भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई १० विकेटले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले प्रस्तुत गरेको ११९ रनको लक्ष्य दक्षिण अफ्रिकाले कुनै विकेट नगुमाई १७.५ ओभरमा पूरा गर्यो।
दक्षिण अफ्रिकाका लागि लाउरा वोल्भार्ट ले ५९ र टाजमिन ब्रिट्सले ५७ रन बनाए।
यसअघि ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११८ रन जोडेको थियो। वेस्टइन्डिजका लागि स्टाफेनी टेलरले सर्वाधिक ४४ रन जोडिन्।
आजको दोस्रो खेल समूह ‘ए’ मा रहेको भारत र न्युजिल्यान्डबीच हुँदैछ। कात्तिक ४ गतेसम्म चल्ने प्रतियोगितामा १० राष्ट्रको सहभागिता छ। प्रतियोगितामा सहभागी टिमहरूलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियासहित भारत, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्ड रहेका छन्। त्यस्तै समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्टइन्डिज, बंगलादेश, स्कटल्यान्ड र इंग्ल्यान्ड रहेका छन्।