यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे

हिमाल प्रेस १३ असोज २०८१ १६:५१
20
SHARES
यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे फाइल तस्बिर।

काठमाडौं- यात्रुको चाप बढेपछि विमान कम्पनीहरूले सस्तो दरका टिकट बिक्री गर्न छाडेका छन्। बिहीबारदेखि परेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक सञ्जाल अवरुद्ध भएको छ। यस्तो समयमा विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडेपछि चर्को आलोचना भएको छ।

बाढीपहिरोका कारण अहिले विभिन्न जिल्लाबाट काठमाडौँ आउने मुख्यराजमार्ग अवरुद्ध छन्। यस्तो अवस्थामा यातायातको एकमात्र विकल्पका रुपमा रहेको हवाई उडानको भाडादरमा उल्लेख्य वृद्धि भएपछि आलोचना भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप बढेकाले हवाई भाडा बढेको हुनसक्ने बताए। ‘विमान कम्पनीहरूले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार विमान कम्पनीले भाडा निर्धारण गर्ने चलन छ’, उनले भने। उनले विमान कम्पनीलाई यात्रुलाई राहत हुने गरी हवाई भाडा लिन आग्रह समेत गरिएको बताए।

वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष मनोज कार्कीले विपद्मा नागरिकको यात्रालाई सहज बनाउन आफूहरू लागेको दाबी गरे। उनले भने, ‘हवाई भाडादरको माथिल्लो शुल्क नलिनका लागि आजै बैठक बसेर कम्पनीहरूलाई भनिसकेका छौँ, अहिले सस्तो दरमा मात्रै टिकट बिक्री भइरहेको छ।’

श्री एयरलाइन्सका संस्थागत प्रवन्धक अनिल मानन्धरले नियमित दरमै टिकट उपलब्ध गराइरहेको दाबी गरे। ‘सिटको उपलब्धताको आधारमा टिकट बिक्री गरिरहेका छौँ, सरकारले तोकेको दरभन्दा बढी रकम लिएका छैनौँ’, उनले भने।

काठमाडौँ–विराटनगरको एकतर्फी रु. सात हजार पाँच सय बिक्री भइरहेको अवस्थामा विमान कम्पनीहरूले बढाएर रु. नौ हजार नौ सय पुर्‍याएको जनाइएको छ। साथै काठमाडौँ–धनगढीको एकतर्फी भाडा रु. १७ हजारसम्म निर्धारण गरिएको छ।

हाल काठमाडौँ प्रवेश गर्ने मुख्य नाकामा सडक अवरुद्ध छ। यस्तो अवस्थामा यात्रुहरूसँग हवाई उडानको विकल्प छैन। काठमाडौँ भित्रने धादिङकाे झ्याप्ले खोलामा पहिरो खस्दा यातायात अवरुद्ध छ। काठमाडौँबाट तराई जोड्ने विपी राजमार्गको रोशिखोलालगायत स्थानमा पहिरोले सडक बगाएपछि काठमाडौँ आवतजावत गर्ने सवारी साधन रोकिएका छन्।

हाल देशभरका ४१ राजमार्गमा ६४ स्थानमा सडक अवरुद्ध रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुनीलबाबु ढकालले जानकारी दिए।

यात्रुलाई सहुलियत दिन क्यानको अनुरोध

नेपाल उड्डयन प्राधिकरण(क्यान) ले अतिरिक्त शुल्क नलिई यात्रुहरूलाई सहुलियत प्रदान गर्न एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेको छ। प्राकृतिक विपद्मा परी आवतजावत गर्न कठिनाइमा परेकाले यात्रुहरूलाई सहुलियत प्रदान गर्न क्यानले एयरलाइन्सहरूलाई आग्रह गरेको हो।

क्यानका सूचना अधिकारी भूलले आइतबार विज्ञप्ति जारी गरेर २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म टिकट काटेका यात्रुहरूलाई यात्राको मिति सारेको, उपस्थित हुन नसकेकोलगायतका अवस्थामा अतिरिक्त शुल्क नलिन एयरलाइन्सहरूलाई आग्रह गरेका छन्।

हवाई सेवा प्रयोग गर्ने यात्रुहरूलाई यी छुटहरू आगामी ११ अक्टोबरसम्म उपलब्ध गराउन क्यानले एयरलाइन्सहरूसँग आग्रह गरेको छ।

प्रकाशित: १३ असोज २०८१ १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 9 =