बागमती नदीले खतराको तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

हिमाल प्रेस ११ असोज २०८१ २१:२७ | Friday, September 27, 2024
बागमती नदीले खतराको तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह प्रतीकात्मक तस्बिर।

काठमाडौँ- बागमती नदीले खतराको तह पार गरेको छ। उपत्यकाको खोकना जलमापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा धेरैमाथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक सूचना जारी गरी जनाएको छ।

यहाँ खतराको तह ४ मिटर रहे पनि बाढी बढेर करिब पाँच मिटरमा पुगेको छ। अझै बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेहरूले शनिबार दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

उपत्यकाका अन्य खोला र नदीहरूको पानी सावधानीको तहमा पुगेको छ। यस्तै साँझ बारा जिल्लास्थित पसाहा खोला, महेशपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालका विभिन्न ३२ वटा बाढी मापन केन्द्रमा जल सतह चेतावनी तहमा पुगेको जानकारी गराएको छ। प्राधिकरणले आजै (शुक्रबार) सूचना जारी गरी कुलेखानीको ड्याम भरिनसक्ने र खोल्नुपर्ने अवस्था आउनसक्ने भएकाले तल्लो क्षेत्रका स्थानीयलाई सुरक्षित रहन अनुरोध गरेको छ।

प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले कुलेखानी बाँधदेखि तलका क्षेत्र र रौतहट सर्लाहीसम्मका बागमती तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरिएको जानकारी दिए।

प्रकाशित: ११ असोज २०८१ २१:२७ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast