सहकारी ठगी प्रकरण : ढोरपाटनका मेयर नेपाली दिल्लीबाट नियन्त्रणमा

हिमाल प्रेस ११ असोज २०८१ १६:३३
20
SHARES
सहकारी ठगी प्रकरण : ढोरपाटनका मेयर नेपाली दिल्लीबाट नियन्त्रणमा

काठमाडौँ- बाग्लुङस्थित ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको दिल्लीबाट नियन्त्रणमा लिइएको छ। इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका मेयर नेपाली बचतकर्ताको रकम अपचलन गरेर १६ महिनादेखि फरार थिए।

नेपालीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा रेड नोटिस जारी भएको थियो। सोहीअनुसार भारतीय सुरक्षाकर्मीले दिल्लीबाट उनलाई नियन्त्रणमा लिएको हो।

बचतकर्ताको करिब २ अर्ब रकम अपचलन गरेका अभियोगमा लागेका नेपाली गत वर्ष ५ जेठदेखि फरार थिए। तर नेपाली बेलाबेलामा फेसबुक लाइभमा आउने र आफ्नो जीउधनको सुरक्षा नभएकाले केही समय टाढा बस्नुपरेको बताउने गर्थे।

उनी गत वर्ष ५ मंसिरमा पहिलोपल्ट सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर एकै पटक धेरै जना बचतकर्ताले बचत फिर्ता माग्न आउँदा सहकारी समस्यामा परेको दाबीसमेत गरेका थिए।

सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उनले पोखरासहित बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी करिब २ अर्ब रकम बचतकर्ताबाट उठाएर हिनामिना गरेको उल्लेख छ।

‘भारतीय सुरक्षाकर्मीले उहाँलाई नियन्त्रणमा लिएको र आवश्यक प्रक्रिया पुर्‍याएर हाम्रो प्रहरीले नेपाल ल्याउने तयारी गरिरहेको छ,’ निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले हिमालप्रेससँग भने।

नेपालीविरुद्ध एक हजार पाँचसय ७३ जना बचतकर्ताले जिल्ला प्रहरी कार्यालय बाग्लुङ जाहेरी निवेदन दिएका थिए। मेयर नेपालीसँगै सहकारीको रकम अपचलनको आरोपमा उनकी श्रीमती छेला नेपालीविरुद्ध पनि प्रहरीकहाँ जाहेरी छ।

उनीहरूविरुद्ध २०८० जेठ २३ गते पहिलोपटक मुद्दा दर्ता भएको थियो। अहिलेसम्म उनीहरूविरुद्ध बिगो एक अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले मेयर दम्पत्तिविरुद्ध इन्टरपोलमार्फत गत माघ १०(२४ जनवरी २०२४) गते रेड नोटिस जारी गरेको थियो। मेयर नेपालीले कृत्रिम कर्जा खडा गरेर सहकारीको रकम अपचलन गरेको पाइएको थियो।

नेपालीले आफ्नो घरमा आई हतियारसहित ज्यान मार्ने धम्की आएको र ६ लाख बचत भएकाहरूले करोडौँको घर मागेकोले बेपत्ता हुनुपरेको उनले बताएका थिए। आफ्नो चलअचल सम्पत्ति पूरै बागलुङमा रहेको भन्दै कर्मचारीले आफूलाई असहयोग गरेको बताएका थिए। बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुख भएर ७ वर्षदेखि बुर्तिवाङ बस्दा सहकारीमा समय दिन नसकिएको उनले स्वीकारेका थिए।

उनले आफू र पत्नीका नाममा भएको घरजग्गाको विवरण समेत सार्वजनिक गर्दै आफूले बचतकर्ताको पैसा फिर्ता गर्न तयार रहेको समेत वचन दिएका थिए। बाग्लुङ, पोखरा र काठमाडौंमा गरी उनका १८ घर रहेको र ती घरको मूल्य ३ अर्बभन्दा बढी रहेको बताएका छन्।

उनी नेकपा (एमाले) बाट २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा ढोरपाटनको मेयर जिते हुन्। इमेज सहकारीको मुख्य कार्यालय बागलुङ बजारमा छ। शाखा कार्यालयहरू पोखरा र बालगुङको हटिया र बुर्तिबाङ बजारमा छन्। बागलुङमा मात्र सहकारीको २ अर्बभन्दा बढी रकम हिनामिना भएको अनुमान छ।
उक्त सहकारी ठगी अभियोगमा पक्राउ परेका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिइसकेको छ।

प्रकाशित: ११ असोज २०८१ १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 8 =