कांग्रेसलाई ‘नम्बर वन’ पार्टी बनाउने चाहना छ : देउवा

हिमाल प्रेस ५ असोज २०८१ १९:२४
10
SHARES
कांग्रेसलाई ‘नम्बर वन’ पार्टी बनाउने चाहना छ : देउवा कांग्रेस सभापति शेरबहादुर देउवा

काभ्रेपलाञ्चोक– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन्।

उनले काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरिएको बिपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई सम्बोधन गर्दै सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सत्तासहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको बताए।

‘दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाएअनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको छ,’, देउवाले भने। उनले कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी मेहनत गर्न र जनताको कामलाई पनि सँगसँगै लैजान पार्टीका नेताकार्यकर्तालाई आग्रहसमेत गरे। उनले भने, ‘सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्दछ।’ उनले दुई पार्टीबीच सहकार्य गरी काम पनि सोहीअनुसार गर्नुपर्ने बताए।

सभापति देउवाले ठट्यौली शैलीमा ‘कांग्रेसले कामै गर्दैनन्, गफ बढी गर्छन्’ भन्ने भन्ने भाष्यलाई चिर्दै धेरै काम गर्नुपर्ने बताए। ‘अब हामीले जनतासँगको सम्बन्ध बढाउनुपर्छ, उनीहरूको मन जित्नेगरी काम गर्नुपर्दछ, प्रदेश, जिल्ला तथा गाउँ एवं स्थानीयस्तरका विकास योजनामा मिलेर काम गर्नुपर्छ। जनताको दुःख, पीर–मर्का बुझ्नुपर्दछ,’ सभापति देउवाले भने।

सभापति देउवाले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने इच्छा र उद्देश्य रहेको बताए। ‘नम्बर वान पार्टी बन्नका लागि पनि जनताको काममा लाग्नैपर्‍यो, यसका लागि म सबै साथीहरूलाई पुनः आग्रह गर्दछु,’ उनले भने। हालको यो संविधान समावेशी र समानुपातिक प्रणाली भएकाले कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो भएको उनको तर्क थियो। ‘तैपनि गाह्रै, अप्ठ्यारै भएपछि काम त गर्नुपर्‍यो नि! त्यसको निम्ति हामीले धेरै मेहनत गर्‍यौँ भने बहुमत प्राप्त गर्न सक्नेछौँ,’ उनले थपे।

सभापति देउवाले इतिहासमात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने दोहोर्‍याए। उनले बिपी कोइरालाको इच्छाअनुसार गिरिजाप्रसाद कोइराला प्रधामन्त्री हुँदा बिपी राजमार्गको सुरुआत गरेको स्मरण गर्दै जापानको सहयोगमा बनेको यस बाटोले पूर्व जाने छोटो बाटो तथा ‘कनेक्टिभिटी’ बढाउन निकै महत्त्वपूर्ण भएको बताए। उनले भने, ‘यो ठूलो गौरवको विषय हो।’

कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री डा. शसाङ्क कोइरालाले बिपी कोइरालालाई पुजेर मात्रै हैन उनको आदर्श र पदचाप बुझेर अघि बढ्नुपर्ने बताए। उनले भने, ‘कांग्रेसीजनले बिपीको आदर्श बुझेर पदचाप पछ्याउनुपर्छ, प्रजातन्त्र प्राप्तिपछि धेरै उपलब्धी भएका छन्, यसको रक्षार्थ पनि लाग्नुपर्छ।’ उनले शैक्षिक, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा भएका उपलब्धीलाई विकास एवं प्रवर्द्धन गर्न आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast