काभ्रेको ११ पालिकामा डेंगु सङ्क्रमण

हिमाल प्रेस २ असोज २०८१ १६:४६ | Wednesday, September 18, 2024
काभ्रेको ११ पालिकामा डेंगु सङ्क्रमण सांकेतिक तस्बिर।

काभ्रेपलाञ्चोक–  दुई महिनाको अवधिमा काभ्रेको एघार स्थानीय तहमा डेंगी सङ्क्रमण फैलिएको छ। यस अवधिमा एक सय ३४ मा डेंगी सङ्क्रमण भएको छ भने पछिल्ला हप्तादेखि दैनिक डेंगी सङ्क्रमण थपिँदै गएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।

जिल्लामा १३ स्थानीय तह छन्। पछिल्लो २४ घण्टामा बनेपा, पनौती नगर पालिका सहित रोशी गाउँपालिकामा एक/एक जनामा डेंगी सङ्क्रमण देखिएको कार्यालयले जनाएको हो। कार्यालयका अनुसार सोमबार चार पुरुषमा र आइतबार एक पुरुषमा डेंगी सङ्क्रमण देखिएको छ। करिब दुई हप्तादेखि दैनिकजसो डेंगी सङ्क्रमण देखिएको हो।

हालसम्म एघार स्थानीय तहमा डेंगी सङ्क्रमण फैलिएको कार्यालयको प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिए। उनका अनुसार हालसम्म करिब दुई महिनाको अवधिमा ६२ पुरुष र ७२ महिलामा डेंगी सङ्क्रमण देखिएको छ। अझै डेंगी सङ्क्रमणदर बढ्ने अनुमान गरिएको उनले बताए।

कार्यालयका अनुसार सबैभन्दा बढी बनेपा नगरमा १८ पुरुष र १६ महिला गरी ३४ जनामा डेंगी सङ्क्रमण भएको पाइएको छ। यस्तै पनौतीमा २६, भुम्लुमा २०, धुलिखेलमा १८, मण्डनदेउपुरमा १२, पाँचखालमा सात, नमोबुद्धमा छ, रोशीमा पाँच तथा तेमाल, बेथानचोक र महाभारतमा एक/एक जनामा सङ्क्रमण देखिएको हो। गत आर्थिक वर्षमा काभ्रेपलाञ्चोकमा चार सय ८७ जनामा डेंगी सङ्क्रमण देखिएको थियो।

हाल सङ्क्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी सङ्क्रमण न्यूनीकरण गर्न विभिन्न सचेतनाका कार्यक्रम गरिएको कार्यालयले जनाएको छ। सङ्क्रमण नियन्त्रणका लागि प्रत्येक शुक्रबार ‘१० बजे दश मिनेट’–‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

डेंगीको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ। लामखुट्टेको टोकाइबाट डेंगी रोग लाग्ने ब्यक्तिलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ। समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुनेगर्दछ।

प्रकाशित: २ असोज २०८१ १६:४६ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast