नेपालमा पहिलोपटक आइफोनबाट छायांकन गरिएको फिल्म कस्ताे छ?

हिमाल प्रेस ३० भदौ २०८१ १३:३०
48
SHARES
नेपालमा पहिलोपटक आइफोनबाट छायांकन गरिएको फिल्म कस्ताे छ?

काठमाडौँ- नेपालमा पहिलोपटक आइफोन १४ प्रो म्याक्सबाट फिल्म ‘अ प्लेस अन्डर द सन’ छायांकन गरिएको छ। सुन्धारास्थित सीडीसी सिनेमाजमा गत शुक्रबार फिल्मकाे विशेष सो आयोजना गरिएको थियाे।

फिल्म जेसन लोप्चनले निर्देशन गरेका हुन्। उनी अस्कर कलेजका विद्यार्थी हुन्। फिल्म विषयमा स्नातक सकिएपछि केही साथीहरुसँगको सहयोगमा उनले फिल्म निर्देशन गरे। यो उनको पहिलो प्रयास हो।

एक घण्टा ५५ मिनेटको फिल्मले बाल्यकालदेखिका तीन घनिष्ट मित्रको कथालाई चित्रण गरेको छ। उनीहरुको जीवनमा अर्को व्यक्तिको प्रवेशपछि जीवनमा आइपर्ने उतारचढावलाई फिल्मको कथावस्तु बनाइएको छ।

विशेष साे मा अस्कर कलेजका विद्यार्थीसहित कवि तथा फिल्म निर्देशक उपेन्द्र सुब्बा, निर्देशक सुवर्ण थापा, शैलेन्द्र कार्की, गायक यश कुमार, कलाकार प्रविण खतिवडा, अभय बराललगायत कलाकार र फिल्म पत्रकार उपस्थित थिए।

फिल्म हेरेपछि अधिकांशले कलाकारको अभिनय, फिल्मको छायांकारपक्ष राम्रो बनेको प्रतिक्रिया दिए। आइफोनबाट पनि फिल्म बनाउन सकिने रहेछ भन्ने बलियो पक्ष बनेको फिल्मकर्मीहरुकाे भनाई छ। नयाँ कलाकारको कमेडीयुक्त डाइलगको प्रस्तुति र गुणस्तरीय छायांकनले निर्देशकको पहिलो प्रयास सम्भावनायुक्त देखिन्छ।

क्राइम जनरामा बनेको फिल्ममा मिन घलान, मिरा गुरुङ, अंशु शर्मा, विप्लप गौली, प्रजन पौडेल, रिदेन श्रेष्ठ, प्रवेश महतरालगायत कलाकारको अभिनय छ। निर्देशक लोप्चनले नै सम्पादन गरेको फिल्म प्रविन लिम्बूले छायांकन गरेका छन्। फिल्म काठमाडौँ र चितवनका विभिन्न ठाउँमा छायांकन गरिएको छ।

आगामी दिनमा फिल्म ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियो, एप्पल टिभी, पिकक र रोकु टिभीमार्फत सार्वजनिक गरिने निर्माण टिमको तयारी छ। फिल्म एक स्क्वाड फिल्म्सले निर्माण गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =