हरिप्रसाद नाट्यसंगीत प्रतिष्ठानले राष्ट्रिय नाटक महोत्सव गर्ने

हिमाल प्रेस २४ भदौ २०८१ १८:४३
14
SHARES
हरिप्रसाद नाट्यसंगीत प्रतिष्ठानले राष्ट्रिय नाटक महोत्सव गर्ने

काठमाडौँ- प्रसिद्ध नाट्यकर्मी हरिप्रसाद रिमाल र उनकी धर्मपत्नी कल्याणीका नाममा स्थापित ‘हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठान’ले  ‘प्रतियोगितात्मक राष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना गर्ने भएको छ।

खस्कँदो नेपाली मौलिक रंगमञ्चलाई पुनःजीवन दिने उद्देश्यले यही भदौ ३०, ३१ र असोज १ गते यहाँस्थित सांस्कृतिक संस्थान अर्थात् राष्ट्रिय नाचघरमा ६ वटा नाटक प्रदर्शन गरिनेछ।

प्रतिष्ठानले आज (सोमबार) यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका सदस्य सचिव सम्राट सापकोटाले प्रतियोगिताका लागि प्राप्त ३२ नाटकमध्ये ६ वटा छनोट गरी प्रदर्शन गरिने जानकारी दिए। उनका अनुसार प्रतियोगितामा उत्कृष्टमध्ये पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार नगद तथा ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ।

नाटकका उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई पनि जनही रु १५ हजार तथा छनोट भएका छ नाटक समूहलाई नाटक अभ्यासका लागि २०–२० हजार रूपैयाँ दिइनेछ।  छनोट भएकामध्ये हरेक दिन दुई/दुई नाटक प्रदेश हुने छ जसको समयावधि एक/एक घन्टाको हुनेछ।

नाट्यकर्मी, चलचित्रकर्मी तथा ‘रेडियो नेपाल’का प्रथम गायक रिमालको जन्मशताब्दीका अवसरमा आयोजना हुने सो महोत्सवमा दुई वर्षका कार्यक्रम एकै पटक हुने र केही व्यक्तित्वलाई ‘शताब्दी स्मृति सम्मान’ पनि गरिने प्रतिष्ठानका सहसदस्य सचिव घनश्याम गौतमले जानकारी दिए।

रिमालका ज्येष्ठ सुपुत्र अरुणप्रसादले नेपाली मौलिक नाटकको अवस्था दयनीय भएकाले यसलाई झक्झक्याउनका लागि प्रतिष्ठानले सो महोत्सव आयोजना गर्न लागेको स्पष्ट गरे।

नाट्यकर्मी रिमालले ‘के घर के डेरा’ शीर्षक चलचित्रमा अभिनय पनि गरेका थिए। ‘विनुबादल असिना पर्दैन, माया लाग्छ बोलाउन सक्दिन’ बोलका गीतलगायतमा उनले स्वर दिएका थिए।

प्रकाशित: २४ भदौ २०८१ १८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =