बैंकिङ कसुर तथा सजाय विधेश संशोधनसहित पारित

हिमाल प्रेस २४ भदौ २०८१ १४:०५
बैंकिङ कसुर तथा सजाय विधेश संशोधनसहित पारित

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन पारित गरेको छ। सिंहदरबारमा सोमबार बसेको समिति बैठकले उक्त विधेयकलाई संशोधनसहित पारित गरेको हो।

२०८० साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो भने तत्कालीन अर्थमन्त्री अर्थमन्त्री डा प्रकाशशरण महतले २०८० असोज १६ गते यो विधेयक सदनमा दर्ता गरेका थिए।

चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनका लागि सरकारले विधेयक ल्याएको हो। विधेयक पारित भएसँगै सभामुख देवराज घिमिरेलाई बुझाउने र छिटो सदनमा पेस गर्न आग्रह गरिने समिति सभापति सन्तोष चालिसले बताए।

विधेयकमा १० करोड भन्दाको चेक अनादरका घटनामा दुई बर्षदेखि चार बर्षसम्मको सजाय थप गर्ने बुँदा थप गरिएको उनले जानकारी दिए।

सरकारले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधन गरी चेक अनादर (बाउन्स) को सजायलाई बैंकिङ कसुर बनाउने गरी विधेयक ल्याएको हो। विधेयकमा चेक अनादरलाई बैंकिङ कसुर मान्दै पाँच प्रतिशत जरिवानासहित एक महिनादेखि अधिकतम चार वर्षसम्मको कैद सजाय राखिएको छ।

त्यस्तै मूल ऐनमा रहेको बैंक वा वित्तीय संस्था भन्ने शब्दहरूका स्थानमा बैंक वा वित्तीय संस्था वा सहकारी बैंक भन्ने शब्दहरू राखी संशोधन गरिएको छ।

प्रकाशित: २४ भदौ २०८१ १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 20 =