 फिर्ता भएको गाडी ।
                             फिर्ता भएको गाडी । 
                                            लुम्बिनी– लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गर्नु भएको छ। लुम्बिनी प्रदेश सरकारले पूर्वविशिष्ट व्यक्तिहरूले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि पूर्व मुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कोर्पियो गाडी मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरिएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कार्यालयका वरिष्ठ शाखा अधिकृत देविराम भण्डारीका अनुसार गत बिहीबार मुख्यमन्त्री कार्यालयमा चालकमार्फत पूर्वमुख्यमन्त्री केसीले गाडी फिर्ता गरेका हुन्।
भदौ ६ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्वविशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेको थियो। मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले फजुल खर्च घटाउने योजना बनाए अनुसार पूर्वविशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णयमा पुगिएको बताएका थिए।
२०७९ भदौ ३१ गते बसेकाे प्रदेश मन्त्रिपरिषद् बैठकले पूर्वविशिष्ट पदाधिकारीका लागि सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। यो निर्णयका आधारमा पूर्वमुख्यमन्त्री तथा सभामुखले सेवा सुविधा लिँदै आएका थिए।
पूर्वविशिष्ट व्यक्तिले गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा पाउने गरेका थिए। आर्थिक संकट निम्तिएको समयमा मितव्ययीता अपनाउनको लागी पूर्वविशिष्ट व्यक्तिहरूलाई दिँदै आएको सेवा सुविधा फिर्ता गर्ने निर्णय वर्तमान प्रदेश सरकारले गरेको हाे। प्रदेशसभाका पहिलो सभामुख पूर्णबहादुर घर्ती मगरले पनि पूर्वविशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा अन्तर्गत सरकारी गाडी प्रयोग गर्दै आएका छन्। पूर्वसभामुख घर्तीले प्रदेशसभाका सचिव दुर्लभकुमार पुनलाई आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने बारेमा जानकारी गराइसकेको बताइएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 