अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला आज पनि आएन

हिमाल प्रेस १२ भदौ २०८१ १७:३९ | Wednesday, August 28, 2024
अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला आज पनि आएन अग्नि सापकोटा

काठमाडौँ- माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला आज पनि सरेको छ। आज बुधबारको संवैधानिक इजलासले निर्णय सुनाउने मिति तोकिएको भए पनि सरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।  यसअघि गत असार १२ गते पनि इजलासका एक न्यायाधीश अनुपस्थित हुँदा निर्णय सुनाउने मिति सरेको थियो। आज भने अध्ययन नपुगेको भन्दै निर्णय सुनाउने मिति सारिएको कुइँकेलको भनाइ छ।

‘आज प्रधानन्यायाधीशसहित न्यायाधीशहरू अन्य मुद्दामा व्यस्त हुनुपर्ने अनि यसबारे अध्ययन पनि अझै नपुगेकोले सरेको हो,’ उनले भने।  काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै सापकोटाविरुद्ध रिट दायर भएको थियो। उक्त रिटमाथिको बहस गत जेठ २३ मा सकिए पनि अझै अन्तिम निर्णय संवैधानिक इजलासले सुनाएको छैन।

गत जेठ २३ गते नै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति असार १२ गतेका लागि तोकेको थियो। असार १२ सुनुवाइ हुन नसकेपछि आजको मिति तोकिएको थियो। आज पनि सुनुवाइ हुन सकेन।

२०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका लामाको शव दुई महिनापछि फेला परेको थियो। उक्त घटनाविरुद्ध लामाकी पत्नी पूर्णिमाया लामाले हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै २०६९ मङ्सिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन्।

सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो। त्यसअघि २०७२ चैत १२ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले मुद्दा संवैधानिक इजलासमा हेरिने आदेश दिएको थियो।

प्रकाशित: १२ भदौ २०८१ १७:३९ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast