आयात न्यूनीकरण गर्न स्वदेशी उत्पादन वृद्धिमा जोड दिनुपर्छ : कृषिमन्त्री अधिकारी

हिमाल प्रेस ६ भदौ २०८१ ६:५१
8
SHARES
आयात न्यूनीकरण गर्न स्वदेशी उत्पादन वृद्धिमा जोड दिनुपर्छ : कृषिमन्त्री अधिकारी रामनाथ अधिकारी

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आयात न्यूनीकरण गर्न स्वदेशी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।

मन्त्रालयद्वारा राष्ट्रिय आविष्कार केन्द्रका प्रतिनिधिसँग बुधबार आयोजित छलफलमा उनले निर्यातजन्य स्वदेशी उद्योगलाई संरक्षण गर्न सरकारले नीतिगत सुधारका साथै आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री अधिकारीले मुलुकको आर्थिक विकासका लागि कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान वृद्धि गर्नुपर्ने र किसान लक्षित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे।

उनले आविष्कार केन्द्रले उत्पादन गर्ने कृषि औजार सामग्रीको बजारीकरण कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘आविष्कार केन्द्रले कृषकको मागअनुसारका औजार उत्पादन गरे त्यसको बजारीकरणका लागि सरकारले सहयोग गर्छ’, मन्त्री अधिकारीले भने, ‘वीरगञ्जस्थित कृषि औजार कम्पनी सञ्चालनका लागि पनि केन्द्रलाई सक्दो आर्थिक सहयोग उपलव्ध गराउन पहल गर्नेछु।’

केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कम्पनी पुनःसञ्चालनका लागि केन्द्रले आफ्नो पुस्तक बिक्री गरी चन्दा संकलन गर्ने क्रममा रहेको जानकारी दिए। उनले कम्पनी सञ्चालनले कृषि अर्थतन्त्रको विकासमा योगदान गर्ने र त्यसले मुलुकको अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने बताए।

मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले कृषि उत्पादन वृद्धि गर्न किसान लक्षित कार्यक्रम कार्यान्वयन गरिने बताए।

प्रकाशित: ६ भदौ २०८१ ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast