नेपालगञ्ज म्याराथन अब मंसिर २२ मा हुने

हिमाल प्रेस ३ भदौ २०८१ १८:३१ | Monday, August 19, 2024
नेपालगञ्ज म्याराथन अब मंसिर २२ मा हुने

काठमाडौँ- धारा नेपालगञ्ज म्याराथनको १० औँ संस्करणको मिति दुई हप्तापछि सारिएको छ। नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस वर्ष २२ मंसिर शनिबार हुने भएको हो।

यो प्रतियोगिता राष्ट्रिय खेलकुदका कारण पछाडि धकेलिएको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ। क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौँ धारा नेपालगन्ज म्याराथनका लागि १ भदौ २०८१ देखि खेलाडी दर्ता खुला गरिएको छ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमि), महिलातर्फ हाफ म्याराथन (२१ किमि), ५ किमि स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखि १२ वर्ष उमेर समूह), ५ किमि कर्पोरेट रन, ५ किमि ट्राइसाइकल र ५ किमि वाकाथन समावेश गरिएको छ।

स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलगअलग स्पर्धा गराई पुरस्कृत गरिनेछ। त्यसै गरी बाँके जिल्लाको हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलगअलग दौड (५ किमि) सञ्चालन गरिनेछ।

म्याराथनका क्रममा दुईदिने नेपालगन्ज कनक्लेभ र एक्स्पो आयोजना गरिनेछ। साथै, केही दौडसम्बन्धी प्रतियोगिता र अतिरिक्त क्रियाकलापका कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको गेटबाट सुरु भई कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पूरा हुन्छ।

प्रकाशित: ३ भदौ २०८१ १८:३१ | Monday, August 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast