साफ यु-२० च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

हिमाल प्रेस २ भदौ २०८१ १७:३२ | Sunday, August 18, 2024
साफ यु-२० च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौँ- घरेलु टोली नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ। खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आइतबार सम्पन्न उद्घाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध १-० को जित निकाल्यो।

खेलमा बलियो पकड जमाएको नेपालले आधा दर्जनभन्दा बढी अवसरलाई खेर फालेको थियो। खेलको दोसे मिनेटमै निराज धामीले गोल गरे पनि अफसाइड ठहरिँदा त्यसले मान्यता पाएन।

१९औं मिनेटमा निरज कार्कीको प्रहारलाई श्रीलंकाका गोलकिपर अहमद शरिफले बचाए। दुई मिनेटपछि नै नेपालले अग्रता लिने अर्को सुनौलो अवसर गुमायो। कप्तान कुशल देउवाको प्रहार पोलमा लागेर फर्कियो।

निराजनले २३औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। निराजनले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहारले पहिलो बारको जाली चुमेको थियो। यो नै खेलको निर्णायक गोल बन्यो।

समिर तामाङको प्रहार क्रस बार नजिकैबाट बाहिरिँदा ६२औं मिनेटमा नेपालले अग्रता दोब्बर बनाउन सकेन। ७६औं मिनेटमा अश्विन घोरासैनीको प्रहारले पनि पोस्टको दिशा लिन सकेन।

अनिल बम्जनको प्रहारलाई ७९औं मिनेटमा गोलकिपर शरिफले बचाए। निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा समिरको प्रहारमा पनि शरिफ बाधक बने।

निराजनको प्रहार क्रसबारमा लागेर बाहिँदा ९० औं मिनेटमा नेपालले अग्रता बढाउने अवसर गुमायो। इन्जुरी समयमा निराजनकै प्रहारलाई शरिफले गोलमा परिणत हुन दिएनन्। अब श्रीलंकाले मंगलबार र नेपालले बिहीबार बंगलादेशको सामना गर्नेछन्।

प्रकाशित: २ भदौ २०८१ १७:३२ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast