धिरज र उपासना अभिनित ‘खुस्मा’को टिजर सार्वजनिक

हिमाल प्रेस २७ साउन २०८१ १२:४५ | Sunday, August 11, 2024
धिरज र उपासना अभिनित ‘खुस्मा’को टिजर सार्वजनिक

काठमाडौँ- अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको सिनेमा ‘खुस्मा’को टिजर सार्वजनिक भएको छ।

आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने सिनेमाको २ मिनेट २४ सेकेण्ड लामो टिजरले मुख्य पात्र धिरज र उपासनको मिठासपूर्ण प्रेमभाव र माओवादी द्वन्द्वले गाउँमा पारेको प्रभावलाई प्रस्तुत गरेको छ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन्। उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठूलो पर्दाको पहिलो निर्देशन गरेको सिनेमा हो। डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा विभिन्न अन्तर्राष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन्।

सिनेमाका निर्मातामा वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह निर्माता सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको सिनेमामा दीपक बज्राचार्यको छायांकन रहेको छ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।

 

प्रकाशित: २७ साउन २०८१ १२:४५ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast