काठमाडौँ- काभा महिला नेसन्स लिग (भलिबल) को उपाधिका आज नेपाल र भारत भिड्दैछन्। यी दुई टोलीबीच दोस्रो पटक खेल हुन लागेको हो। खेल सवा ५ बजे दशरथ रंगशाला कभर्डहलमा हुनेछ।
मंगलबार भएको खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० को सोझो सेटले पराजित गरेर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो।
मंगलबार नै भारतले श्रीलंकालाई ३-० सोझो सेटमै पराजित गरेर फाइनलमा स्थान बनाएको थियो। यी दुई पराजित टोलीबीच तेस्रो स्थानका लागि आजै दिउँसो २ बजे खेल हुनेछ।
लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो। नेपालकी कप्तान अरुणा शाहीले मंगलबारको लय कायम राख्दै फाइनलमा भारतलाई हराउने विश्वास व्यक्त गरिन्। कप्तान अरुणाले दर्शकका साथले पनि खेल जित्न सहयोग पुर्याएको र फाइनलमा पनि घरेलु दर्शकको यस्तै साथ रहने अपेक्षा गरिन्। नेपालका प्रशिक्षक जगदीश भट्टले खेलाडीको क्षमता र आत्मविश्वासले भारतलाई हराएर उपाधि जित्नेमा आफू ढुक्क रहेको बताए।
यसअघि नेपालले लिग चरणमा भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो। यसबाहेक भारतलाई नेपालले जित्न सकेको थिएन। तर घरेलु मैदान र घरेलु दर्शकको साथ लिएर नेपाली महिला टोली उपाधि उचाल्न चाहन्छ। शाही नेपालले आज भारतलाई सोझो सेटमै जित्ने दाबी गर्छिन्।