काठमाडौं- नेपालले काभा महिला नेसन्स लिगको फाइनल प्रवेशका लागि आज (मंगलबार) इरानसँग भिड्दैछ। खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा साझ सवाँ ५ बजे सुरु हुनेछ।
सोमबारको पहिलो खेलमा भारतले श्रीलंकालाई सोझो हराएसँगै नेपालले सेमिफाइनलमा इरानसँग खेल्न पक्का भएको थियो। लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई हराउँदै दोस्रो भएको थियो। नेपालले तेस्रो स्थानमा रहेको इरान प्रतिद्वन्दी पायो। पहिलो सेमिफाइनलमा शीर्ष स्थानको भारत र चौथो स्थानको श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल चार खेलमा ९ अंकका साथ दोस्रो स्थानमा रहँदा इरान चार खेलबाट सात अंकका साथ तेस्रो स्थानमा छ। यसअघि श्रीलंकालाई ३–० र भारतलाई ३–२ को सेटमा हराएको नेपालले इरानसँग भने ३–२ सेटको हार ब्यहोरेको थियो। भारतसँग ३–१ को सेटमा हार ब्यहोरको इरानले श्रीलंकालाई ३–२ र मासल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो।