वीपी प्रतिष्ठानमा १४ वर्षपछि बढुवाको नतिजा प्रकाशित

विवेक विवश रेग्मी १० साउन २०८१ २१:११
38
SHARES
वीपी प्रतिष्ठानमा १४ वर्षपछि बढुवाको नतिजा प्रकाशित

इटहरी- सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ वर्षपछि बढुवाको नतिजा प्रकाशित गरिएको छ। प्रशासनिक कर्मचारीतर्फ १४ वर्ष र शिक्षकतर्फ ६ वर्षपछि प्रतिष्ठानले बढुवाको नतिजा प्रकाशित गरेको हो।

प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानले बिहीबार एक सूचना जारी गर्दै बढुवाको नतिजा सार्वजनिक भएको जानकारी दिइन्। आवेदन दिनेहरूमध्ये चिकित्सक शिक्षकतर्फ स्थायी र करार गरी एक सय ९५ जनाको एक तह बढुवा भएको छ।

यसै गरी प्रशासनिक कर्मचारीतर्फ स्थायी र पर्फर्मेन्स करार गरी ४ सय ९ जनाको एक तह र ३ सय ९ जनाको स्तर वृद्धि गरिएको सूचनामा उल्लेख छ। नतिजा गत असार २७ गते नै प्रकाशित भए पनि औपचारिक रूपमा भने बिहीबार मात्रै जानकारी गराइएको प्रतिष्ठानले जनाएको छ। प्रधानका अनुसार प्रतिष्ठानका चिकित्सक शिक्षक र कर्मचारीको बढुवा २०७९ पुस २० र माघ २५ गते प्रकाशित विज्ञापन अनुसार गरिएको हो। शिक्षक तथा कर्मचारीहरूको पदोन्नति प्रक्रिया मूल्यांकन तथा अन्तर्वार्ताबाट आन्तरिक एक तह बढुवा र स्तर वृद्धि गरिएको उनले बताइन्।

खास गरी प्रतिष्ठानमा सात वर्षयता प्रशासनिकदेखि कर्मचारीका वृत्ति विकासका काम नियमित हुन नसक्दा कामहरू प्रभावित बन्दै आएको छ। प्रतिष्ठानमा सधैँजसो भ्रष्टाचारका काण्ड बाहिरिने, अख्तियारले छापा हान्ने, मेडिकल उपकरण खरिदमा कमिसनको खेल हुनेजस्ता घटनाका कारण प्रतिष्ठानले गति लिन सकेको छैन। यसको असर बिरामीमा प्रत्यक्ष रूपमा पर्दै आएका कारण समस्या निम्तिदैँ आएको थियो। प्रतिष्ठानको चरम लापरबाहीका कारण १४ वर्षअघि जुन पदमा नियुक्त भएको हो, कर्मचारीहरू सोही पदमा कार्यरत थिए।

प्रतिष्ठानमा एमडी–एमएस र डेन्टलतर्फ एमडीएस पास गरेपछि एक वर्षसम्म अनिवार्य सिनियर रेजिडेन्ट (एसआर) तहमा काम गर्नुपर्ने नियम छ। एक वर्ष एसआर भइसकेपछि मात्र सहायक प्राध्यापक हुन योग्य बन्ने नियम रहेको प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले जानकारी दिए। उनका अनुसार उक्त पदमा चार वर्ष अनुभव लिएपछि मात्रै सहप्राध्यापकको प्रतिस्पर्धामा जान सकिने व्यवस्था छ। सहप्राध्यापक भएको तीन वर्षमा अतिरिक्त र अतिरिक्त भएर थप तीन वर्ष सेवा गरेपछि प्राध्यापकमा बढुवाका लागि योग्य हुने उनले जनाए। ‘वीपी प्रतिष्ठानका शिक्षक र कर्मचारीले पदोन्नतिका लागि जायज माग सम्बोधन गरी पदोन्नति गरिएको छ,’ उनले भने।

प्रकाशित: १० साउन २०८१ २१:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast