चार वर्षका बालकलाई पनि ‘स्टाफ’ भनेर उडाएको थियो सौर्य एयरलाइन्सले

हिमाल प्रेस ९ साउन २०८१ १६:१२
1.4k
SHARES
चार वर्षका बालकलाई पनि ‘स्टाफ’ भनेर उडाएको थियो सौर्य एयरलाइन्सले प्राविधिक मनुराज शर्मा, उनकी पत्नी र छोरा।

काठमाडौँ-  सौर्य एयरलाइन्सको दुर्घटना भएको विमानमा बालक र अन्य निकायका कर्मचारीलाई पनि विमानस्थलको कर्मचारी भनेर उडानमा सहभागी गराएको पाइएको छ।

दुर्घटनामा निधन भएकी प्रिजा खतिवडा ऊर्जा मन्त्रालयका सचिवको सचिवालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन्। यसैगरी निधन भएका अर्का अधिराज शर्मा चार वर्षीय बालक हुन्।

एयरलाइन्सले सार्वजनिक गरेको यात्रीको विवरणमा खतिवडा र शर्मा दुवैलाई एयरलाइन्सका कर्मचारी भनेको थियो। पछिल्लो विवरणमा भने शर्मालाई बालकमात्रै भनेको छ। उनीहरू एयरलाइन्सका प्राविधिक मनुराज शर्माका पत्नी र छोरा हुन्। आफू पोखरा जाने भएपछि शर्माले छोरा र श्रीमतीलाई पनि साथमै लगेको शर्माका आफन्तले बताएका छन्।

नागरिक उड्डयन प्राधिकरणले जहाज दुर्घटनमा परी ज्यान गुमाउनेमा एकजना बालक अभिराज शर्मा रहेको जनाएको छ। दुर्घटनालगत्तै सौर्य एयरलाइन्सले जारी गरेको विवरणमा अधिराजलाई एयरलाइन्सकै कर्मचारी रहेको भनेर उल्लेख गरेको थियो।

विमान मर्मतका लागि केही दिन लाग्ने र त्यस अवधिमा केही दिन पोखरा घुमाउने उद्देश्यले शर्माले पत्नी र छोरालाई पनि सँगै लगेको जानकारी प्राप्त भएको उनका आफन्त अनिल पोखरेलले बताए।

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एनएएमई जहाज बुधबार बिहान दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो। पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रनवे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो। विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा संकलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए। विमानमा रहेका १९ मध्ये एकजना यमनी नागरिक थिए।

प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका पाइलट मनीषरत्न शाक्यलाई जीवितै उद्धार गरिएको छ। मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो।

विमानस्थल सुरक्षामा रहेको अग्नि नियन्त्रक टोली, नेपाल प्रहरी, नेपाली सेना तथा अन्य सरोकारवाला निकायका उद्धारकर्मी तथा चिकित्सक टोलीले उद्धार गरेका थिए।
सबै शव त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइनेछ।

सौर्य एयरलाइन्सले जारी गरेको सुरुको विवरण

नागरिक उड्डयन प्राधिकरणको विवरण

 

प्रकाशित: ९ साउन २०८१ १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =