काठमाडौँ- नेपाली सेना सैनिक श्रीमती संघले सोमबार ‘वार्षिक रुद्री पूजा’ गरेको छ। हरेक वर्ष झैँ यो वर्ष पनि साउनको पहिलो सोमबार पारेर संघले रुद्री पूजा लगाएको हो। संघका अनुसार मुलुकको हित र सेनाभित्र सधैँ सदभाव रहोस् भन्ने कामनासहित रुद्री पूजा गरिएको हो।
सोमबार संघ कार्यालयमा संघकी अध्यक्ष सुनीता शर्माले आफ्ना संघका पदाधिकारीहरूसहित भएर यस्तो पूजा लगाएकी हुन्।

श्रीमती संघले हरेक वर्ष यस्तो रुद्री लगाउने गरेको छ। पूजामा संघका उपाध्यक्ष निता सिग्देल, कार्यकारिणी पदाधिकारी, सल्लाहकार, संयोजक, सहसंयोजक तथा पूजा उपसमितिका सदस्यहरूको उपस्थिति थियो।
विधिवत् रूपमा पूजा गराई सबै रोगहरू नष्ट गराउने, मुलुकको हित, दैवी प्रकोपको चपेटामा कोही नपरुन् भन्दै स्वस्ती शान्ति गर्ने काम भएको अध्यक्ष शर्माले बताइन्। सो पूजामा दिग्गज पण्डितहरूले सत्कर्मको वाचन गरेका थिए।
शर्माको नेतृत्वमा यो तेस्रो रुद्री पूजा हो। सैनिक श्रीमती संघले आफ्नो तर्फबाट समाजलाई हित गर्ने कार्यहरूसँगै आस्था जगाउने कार्यअन्तजर्गत यो पनि भएको हो।

सेनाभित्रैका सकल दर्जा र अधिकृतका पनि अटिजम् र अन्य दीर्घकालीन समस्या भएका बच्चाहरूलाई पढाउने विद्यालय स्थापना, सैनिक परिवारलाई सीपमूलक प्रशिक्षण मात्र होइन समस्या भएको स्थानमा राहत वितरण गर्नेलगायतका सामाजिक काम पनि संघले गर्दै आएको छ।
श्रीमती संघमा राखिएका रकम यस्तै कार्य र सहयोगमा खर्च हुने गरेका छन्। लोककल्याणकारीको कोष र श्रीमती संघको लागि भनेर छुट्याएको रकमको फिक्स डिपोजिटबाट आउने रकमले यो संघ चल्ने गरेको छ। झट्ट हेर्दा सैनिक श्रीमतीले घरबाटै रकम हालेर चले झैँ देखिए पनि त्यस्तो भने नभएको तर त्यो आवश्यक रहेको बताउँदै आएका छन्।


                                             
                                             
                                             
                                             

