 
                             
                                            काठमाडौँ- गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन्। आज (सोमबार) सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर राजदूत सोङले गृहमन्त्री लेखकलाई बधाई दिएका हुन्।
भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैँ सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। यस्तै उनले नेपालको पूर्वाधार विकासलगायत क्षेत्रमा चीन महत्त्वपूर्ण विकास साझेदार रहेको बताए।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्याएको सहयोगका लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिए। साथै गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरुको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको गृह मन्त्रालयले जनाएको छ।
राजदूत सोङले पनि नेपाल र चीनबीचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे। नेपाल र चीनबीच सांस्कृतिकलगायत धेरै समानता रहेको भन्दै आगामी वर्षमा सम्बन्ध अझै प्रगाढ हुने उनले विश्वास व्यक्त गरे।
यसै गरी राजदूत सोङले सीमा व्यवस्थापन, सीमापार हुने अपराध निन्यत्रण र दुवै मुलुकका नागरिकहरूको सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने भेटवार्तामा स्पष्ट पारेका थिए। साथै अध्यगमन प्रशासनलाई सुदृढ बनाउन चीन सरकारबाट सक्दो सहयोग हुने उनको भनाइ थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 