सीडीओहरूलाई गृहमन्त्रीको निर्देशन : विपद्मा नागरिकलाई सरकार भएको महसुस गराउनुहोला

हिमाल प्रेस ५ साउन २०८१ ६:५०
8
SHARES
सीडीओहरूलाई गृहमन्त्रीको निर्देशन : विपद्मा नागरिकलाई सरकार भएको महसुस गराउनुहोला रमेश लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन प्रमुख जिल्ला अधिकारीहरू तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिएका छन्।

भर्चुअल माध्यमबाट शुक्रबार बेलुका उनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई मनसुनजन्य विपद्बाट प्रभावित भएका नागरिकलाई राहत दिन तथा उद्धार गर्न राज्यका तर्फबाट कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिए। गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद पनि विपद् व्यवस्थापनमा धेरै काम गर्नुपरेको उल्लेख गरे।

उनले भने, ‘राज्य छ भन्ने अनुभूति दिने काम प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायको हो, अनुभूति हुने ढंगले काम गर्नुपर्छ।’ विपद् व्यवस्थापन गर्न आवश्यक प्रविधिको उपलब्धताका लागि मन्त्रालयले पहल गरिरहेको उनको भनाइ थियो।

विपद् व्यवस्थापनका साथै जिल्लाको शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, आपराधिक गतिविधि नियन्त्रणलगायत विषयमा सक्रिय हुन मन्त्री लेखकले सो अवसरमा निर्देशन दिए।

‘वर्षात्बाट उत्पन्न जटिल परिस्थितिका कारण ७७ वटै जिल्ला प्रभावित भएका छन्, विपद्को सामना तथा जनधनको क्षति न्यूनीकरणका लागि तीनवटै (संघ, प्रदेश र स्थानीय) तहबीच समन्वय आवश्यक छ, संघीय सरकारको तर्फबाट पहल गर्ने काम प्रमुख जिल्ला अधिकारी हो’, उनले भने। अवाञ्छनिय गतिविधि तथा भ्रष्टाचार गर्ने छुट कसैलाई पनि नभएको मन्त्री लेखकको भनाइ थियो। भर्चुअल बैठकमा गृह सचिव एकनारायण अर्यालले विपद्को सुरुआती दिनमै यस पटक देशभर धेरै जनधनको क्षति भएको बताए।

‘विपद् व्यवस्थापन, राहत तथा उद्धारमा स्थानीय तहलाई केन्द्रबिन्दूमा राखेर काम गर्न आग्रह गर्दछु’, उनले भने, ‘मनसुनजन्य विपद्मा बेपत्ता भएका नागरिकका आफन्तलाई मृतक सरह राहत रकम उपलब्ध गराउने सरकारले निर्णय गरेको छ।’

गृह सचिव अर्यालले बाढी पहिरोबाट पीडित परिवारलाई सुरक्षित स्थानमा स्थानन्तरण गर्नका लागि समन्वय गर्न प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिए।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको सतर्कताका कारण क्षति कम भएको उल्लेख गर्दै उनले जोखिम भएको क्षेत्रमा रात्रिबस सञ्चालन रोक्ने विषयमा यातायात व्यवसायीसँग समन्वय गरी कार्यान्वयन गर्न निर्देशन दिए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलले विपद्का क्रममा विभिन्न प्रभावित जिल्लाका एक हजार चार सय परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिए।
भर्चुअल बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समितिका पदाधिकारी सहभागी रहेका थिए।

सो अवसरमा प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले विपद्पछिको जिल्लाको वस्तुस्थितीबारे जानकारी गराएका थिए। बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायतको सहभागिता रहेको थियो।

प्रकाशित: ५ साउन २०८१ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast