ओली क्याबिनेटका ९ नयाँ अनुहार, शरतसिंह बने २०औं पटक मन्त्री

सन्तोष अधिकारी ३१ असार २०८१ १५:१८
132
SHARES
ओली क्याबिनेटका ९ नयाँ अनुहार, शरतसिंह बने २०औं पटक मन्त्री

काठमाडौँ- आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले आज सोमबार पद तथा गोपनीयताको शपथ लिए। लगत्तै मन्त्रिपरिषद् विस्तार पनि गरे। मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीसहित २२ सदस्य छन्। यो मन्त्रिपरिषद्‌‌मा २० पटकसम्म मन्त्री भएका, आठपटक मन्त्री भएका र पहिलोपटक मन्त्री भएकाहरू छन्।

चौँथोपटक प्रधानमन्त्री बनेका ओलीको मन्त्रिपरिषद्‌मा ९ जना नयाँ अनुहार छन्। मन्त्रिपरिषद्‌मा कांग्रेसबाट प्रतिनिधित्व गर्नेहरू नयाँ छन्।

यी हुन् कांग्रेसबाट पहिलोपटक मन्त्री बनेकाहरू

बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या मन्त्री
रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास मन्त्री
आरजु राणा – परराष्ट्र मन्त्री
ऐनबहादुर शाही – वन तथा वातावरण मन्त्री

यी हुन् एमालेबाट पहिलोपटक मन्त्री बनेकाहरू

मानवीर राई – रक्षामन्त्री
विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात मन्त्री
राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

कांग्रेस-एमालेसहितको गठबन्धन सरकारको नेतृत्व गरेका केपी शर्मा ओली चौँथोपटक प्रधानमन्त्री बनेका हुन्। उपप्रधान तथा सहरी विकास मन्त्री बनेका प्रकाशमान सिंह चौँथोपटक मन्त्री बनेर सरकारमा गएका छन्।

एमालेका उपाध्यक्षसमेत रहेका र आज अर्थमन्त्री बनेका विष्णु पौडेल आठौँपटक मन्त्री बनेका छन्। उनी आठपटक मन्त्री बन्दा पाँचपटक अर्थमन्त्री बनेका हुन्।

गृहमन्त्रालयको नेतृत्वमा आएका कांग्रेसका प्रमुखसचेतक रहेका रमेश लेखक तेस्रोपटक मन्त्री बनेका छन्। उनी एकपटक भने राज्यमन्त्री भएका हुन्।

श्रममन्त्री शरतसिंह भण्डारी २०औंपटक मन्त्री बनेका हुन्। उनी पञ्चायतदेखि अहिलेको गणतन्त्रसम्म आउँदा २०पटक मन्त्री बनेका हुन्।

एमाले उपमहासचिवसमेत रहेका पृथ्वीसुब्बा गुरुङ दोस्रोपटक मन्त्री बनेर सरकारमा गएका हुन्। उनी गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री पनि हुन्।

महिला बालबालिका मन्त्री बनेका नवलकिशोर साह सुडी दोस्रोपटक मन्त्री बनेर सरकारमा गएका छन्। उनी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका हुन्।

भूमि व्यवस्था तथा सहकारी मन्त्री बनेका एमालेका बलराम अधिकारी यसअघि पनि यही मन्त्रालयको नेतृत्वमा थिए। उनी दोस्रोपटक मन्त्री बनेर सरकारमा गएका हुन्।

उद्योग वाणिज्य तथा आपूर्ति बनेका एमाले दामोदर भण्डारी तेस्रोपटक मन्त्री बनेर सरकारमा सहभागी भएका छन्।

युवा तथा खेलकुद मन्त्री बनेका तेजुलाल चौधरी यसअघि खेलकुद राज्यमन्त्री बनेका थिए। उनी सरकारमा दोस्रोपटक सहभागी भएका हुन्।

खानेपानी मन्त्री बनेका अशोक राई नेतृत्वको जसपाका प्रदीप यादव दोस्रोपटक मन्त्री बनेर सरकारमा सहभागी भएका छन्। उनी निवर्तमान सरकारमा स्वास्थ्यमन्त्री थिए।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका कांग्रेसका अजय चौरसिया दोस्रोपटक सरकारमा सहभागी भएका छन्। उनी पहिले राज्यमन्त्री बनेका थिए।

जलस्रोत तथा ऊर्जा मन्त्री बनेका दीपक खड्का पनि दोस्रोपटक मन्त्री भएका हुन्। उनी पहिले राज्यमन्त्री बनेका थिए।

२०औं पटक मन्त्री भएका शरतसिंह 

कहिले कहिले भएका थिए मन्त्री ?

  1. २०४३ असार २ मा पञ्चायत तथा स्थानीय विकास सहायकमन्त्री
  2.  २०४५ कात्तिकमा वाणिज्य राज्यमन्त्री
  3. २०४६ भदौ १४ वाणिज्य राज्यमन्त्री
  4. २०४६ चैत १९ मा वाणिज्य राज्यमन्त्री
  5.  २०५२ भदौ २७ मा बिनाविभागीय राज्यमन्त्री
  6. २०५२ मंसिर २७ मा बिनाविभागीय राज्यमन्त्री
  7. २०५३ जेठ ४, बिनाविभागीय राज्यमन्त्री
  8.  २०५३ जेठ २८ मा बिनाविभागीय राज्यमन्त्री
  9. २०५३ पुस २४ मा बिनाविभागीय मन्त्रीमा बढुवा
  10.  २०५४ असोज २१ मा युवा खेलकुद तथा संस्कृति मन्त्री
  11.  २०५४ कात्तिक २१ मा खेलकुदमन्त्री
  12.  २०५४ मंसिर १८ मा खेलकुदमन्त्री
  13. २०५६ जेठ १७ मा खेलकुद मन्त्री
  14. २०५६ साल फागुन २७ मा स्वास्थ्यमन्त्री
  15.  २०५८ साउन ११ मा स्वास्थ्यमन्त्री
  16. २०६६ जेठमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री
  17. २०६८ भदौमा रक्षामन्त्री
  18. २०७८ असार २९ मा १३ दिनका लागि ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री
  19. २०८० मा श्रममन्त्री
  20.  २०८१ असार ३१ मा श्रममन्त्री 
प्रकाशित: ३१ असार २०८१ १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =