विराटनगरको पुँजीगत खर्चमा सुधार

हिमाल प्रेस २६ असार २०८१ १८:५१ | Wednesday, July 10, 2024
विराटनगरको पुँजीगत खर्चमा सुधार

इटहरी– विराटनगर महानगरपालिकाले पुँजीगत खर्चको क्षमतालाई बढाएको छ।

गत आर्थिक वर्ष ५० प्रतिशत पुँजीगत खर्च गरेको महानगरले चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च गरेको छ। चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेकोमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ खर्च गरेको छ।

नियमित अनुगमन, जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीबीचको प्रभावकारी समन्वयका कारण पुँजीगत खर्च बढेको मेयर नागेश कोइरालाले बताए।

‘जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी र उपभोक्ता समितिहरूको सक्रियताले नै पुँजीगत खर्चमा सुधार आएको हो,’ मेयर कोइरालाले भने, ‘आगामी आर्थिक वर्ष यसमा अझै सुधार गर्नेछौं।’ चालुतर्फ महानगरले ८४ दशमलव ५५ प्रतिशत खर्च गरेको छ। १ अर्ब ६३ करोड विनियोजन गरेकामा १ अर्ब ३८ करोड ३७ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए।

महानगरले वित्तीय व्यवस्थापनतर्फ ५ करोड विनियोजन गरेकामा ४ करोड ७३ लाख खर्च गरेको छ।

महानगरले चालु आर्थिक वर्षमा ७५ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ। गत आर्थिक वर्ष ६४ प्रतिशत खर्च गरेको थियो।

महानगरले ३ अर्ब ३६ करोड १७ लाख बजेट विनियोजन गरेकोमध्ये २ अर्ब ५२ करोड १ लाख रुपैयाँ खर्च गरेको लेखा शाखाका प्रमुख सञ्जीव भट्टराईले जानकारी दिए। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।

प्रकाशित: २६ असार २०८१ १८:५१ | Wednesday, July 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast