कांग्रेस महामन्त्री थापाको प्रश्न, बजेटको स्वामित्व कसले लिने? आफैँले काँध हाल्नुपर्ने हो फेरि?

हिमाल प्रेस २३ जेठ २०८१ १५:५६
128
SHARES
कांग्रेस महामन्त्री थापाको प्रश्न, बजेटको स्वामित्व कसले लिने? आफैँले काँध हाल्नुपर्ने हो फेरि? नेपाली कांग्रेसका सांसद एवम् महामन्त्री गगनकुमार थापा।

काठमाडौँ– नेपाली कांग्रेसका सांसद एवम् महामन्त्री गगनकुमार थापाले आर्थिक वर्ष २०८१/८२ का लागि संसद् पेस गरिएको बजेटको स्वामित्वका विषयमा प्रश्न उठाएका छन्। बजेटमाथिको छलफलमा बुधबार प्रतिनिधिसभा बैठकमा भाग लिँदै थापाले सत्ताका प्रमुख घटक एमाले अध्यक्ष केपी शर्मा ओलीले नै आलोचना गरेकाले बजेटको स्वामित्वका बारे प्रश्न उठेको बताएका हुन्।

उनले एमालेका नेताहरूको नाम नलिईकन जर्साब/कर्साब तथा ओलीको नाम नलिईकन प्रधानसेनापतिको संज्ञा दिए। थापाले भने, ‘गठबन्धनको मुख्य दल एमालेका जर्साब/कर्साबहरूले यहाँ आएर के भन्नुभयो भन्नेमा मेरो धेरै टिप्पणी छैन। तर यसका प्रधानसेनापतिले नै यो बजेट हाम्रो बजेट होइन, यो बजेटसँग हाम्रो रङ मिल्दैन भनिसकेपछि यसको स्वामित्व कसले कसरी लिन्छ भन्ने बारेमा धेरै अलमल रहनुपर्ने भएन।’

सोही कारण एक वर्षपछाडि यहाँ गरिएका अनुमान नमिल्दै गर्दा सत्ता घटकको मुख्य दलले त उत्तर दिनै नपर्ने अवस्था रहेको बताए। उनले भने, ‘किनकि प्रारम्भमै यो बजेट ठिक छैन भनेका थियौँ भन्ने स्थिति रहने भयो।’

थापाले सत्ता घटकका अन्य दलका बारेमा आफ्नो धेरै टिप्पणी नरहेको बताए। ‘कुनै दल सर्वोच्च अदालतमा उभिनुपर्ने अवस्था आएको छ, कुनै दल संसदीय समितिमा उभिनुपर्ने भएको छ। त्यतैतिर ध्यान जाला। यसमा म धेरै टिप्पणी गर्न चाहन्नँ।’

बजेटका बारेमा के बोल्ने भनेर आफू अलमलमा रहेको उनको भनाइ थियो। उनले भने, ‘बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन भनेर बोल्न पर्ने हो। त्यसरी बोलौँ भने संसद्मा यति धेरै उथलपुथल भएको छ यो संसद्मा छ आठ महिनापछि फेरि आफैँले काँध हाल्नुपर्ने हो कि फेरि? आफ्नै बोली गलपासो हुने हो कि?’

सोही कारण आफूले बजेटका बारेमा अर्थमन्त्रीलाई सामान्य प्रश्न गरिएको उनले बताए। थापाले ६ प्रतिशत आर्थिक वृद्धि दर हुन्छ भनेर गरिएको आधार स्पष्ट नरहेको बताए।

प्रकाशित: २३ जेठ २०८१ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + ten =