सर्वोच्चले गर्‍यो गण्डकीका मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत असंवैधानिक ठहर

हिमाल प्रेस १४ जेठ २०८१ १९:३७
236
SHARES
सर्वोच्चले गर्‍यो गण्डकीका मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत असंवैधानिक ठहर खगराज अधिकारी

काठमाडौँ– गण्डकी प्रदेशमा सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक ठहर भएको छ।

न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलास कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति तथा विश्वासको मत लिएको प्रक्रियालाई खारेज गरिदिएको हो।

गत वैशाख २८ गते सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। आदेशमा नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई नियमित कार्य सञ्चालनबाहेक दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न भनिएको थियो।

अन्तरिम आदेश जारी हुने नहुने विषयमा छलफल गर्न सर्वोच्चले दुवै पक्ष बोलाएको थियो। रिटलाई अग्राधिकार दिई जेठ ८ गते पेसीमा चढाउन पनि इजलासले भनेको थियो। जेठ ८ र ९ गते लगातार सुनुवाइ भएको रिट हेर्दाहेर्दैमा राखिएको थियो। आज तेस्रो दिनको सुनुवाइपछि सोमबार सर्वोच्चले निर्णय सुनाएको हो।

वैशाख २३ गते ६० सदस्यीय प्रदेश सभामा अधिकारीले विश्वासको मत लिँदा ३० सांसदको समर्थन पाएका थिए। २७ सांसदले विपक्षमा मतदान गर्दा २ जना तटस्थ बसेका थिए।

सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको यसअघिको व्याख्याअनुसार अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए।

यसअघि वैशाख १७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले गण्डकी प्रदेशमा सभामुखसहित जम्मा सदस्य ६० जना रहे पनि ५९ जनाको मात्रै गणना गरी ३० सदस्य भए मुख्यमन्त्री दाबी गर्न बहुमत पुग्ने व्याख्या गरेको थियो।

अधिकारीले सभामुखलाई समेत गणना गरी मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। त्यसै आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

प्रकाशित: १४ जेठ २०८१ १९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast