गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

हिमाल प्रेस ७ वैशाख २०८१ १४:४८ | Friday, April 19, 2024
गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

पोखरा- नेपाली कांग्रेसले आज दिउँसो ३ बजेका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ।

कांग्रेस संसदीय दलको आजको बैठकले खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताका सम्बन्धमा यसअघि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा फैसला नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको हो।

उक्त रिटमा प्रारम्भिक सुनुवाई गर्दै अदालतले निवेदन पत्र टुंगो नलाग्दासम्म दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नु नगराउनु र पूर्ण सुनुवाइका लागि वैशाख १० गतेका लागि पेसी तोक्नु भनी गत चैत २८ गते अन्तरिम आदेश दिएको थियो।

उक्त आदेशलाई बेवास्ता गर्दै मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेश प्रमुखले प्रदेशसभा बैठक आह्वान गरिएको भन्दै कांग्रेसले सभामुखलाई ध्यानाकर्षणपत्र बुझाएको कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

‘यही वैशाख ७ गते दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक र सम्मानित सर्वोच्च अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदासम्म आह्वान गरिने प्रदेशसभाको कुनैपनि बैठकमा हामी नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले सहभागी नहुने निर्णय गरेको जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ।

सर्वोच्च अदालतबाट दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश जारी भएको परिस्थितिमा प्रदेशसभा अधिवेशन आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु उचित नभएको कांग्रेसको भनाइ छ।

अदालतमा विचाराधीन मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेशसभाको बैठक सञ्चालन गर्नु संवैधानिक दृष्टिले त्रुटिपूर्ण र संसदीय मर्यादा एवं परम्परा विपरीतसमेत हुने भएकाले प्रदेशसभा बैठक सञ्चालन नगर्न नगराउन कांग्रेसले अनुरोध गरेको छ।

प्रकाशित: ७ वैशाख २०८१ १४:४८ | Friday, April 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast