गीतकार राजेन्द्र थापा र गायिका निशा देशार सम्मानित

हिमाल प्रेस ३० चैत २०८० ७:३१ | Friday, April 12, 2024
गीतकार राजेन्द्र थापा र गायिका निशा देशार सम्मानित

मनहरी- भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले गीतकार राजेन्द्र थापा र गायिका निशा देशारलाई सम्मान गरेको छ। गीतकार थापा एक लाख राशिको ‘बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’बाट सम्मानित भएका हुन्।

वरिष्ठ गीतकार नगेन्द्र थापा, साहित्यकार एलबी क्षेत्री,मञ्जु थापा,गायिका सुशीला मानन्धरले गीतकार थापालाई बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा नगदसहित दोसल्ला ओढाएर सम्मान गरे। यसैगरी २५ हजार राशिको ‘भीम विराग युवा संगीत पुरस्कार २०७९’ बाट गायिका देशार सम्मानित भइन्।

सम्मानपछि गीतकार थापाले आफूले भोगेको समाज, परिस्थितिलाई गीतका माध्यमबाट व्यक्त गरेको बताए। उनले, ‘म बन्दुक बोकेको मान्छे हुँ तर कलम मेरो प्रिय हो, भीम विरागलाई सम्झिरहनेछु,म उहाँको प्रशंसक हुँ।’

उद्यमी–व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले २०६४ सालमा आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय पुरस्कार स्थापना गरेका हुन्। यसबाट गीत तथा संगीत क्षेत्रका सशक्त व्यक्तित्व अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारीलगायत सम्मानित भएका छन्।

प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले थापा र देशारको योगदानको कदर गर्दै उनहरूलाई सम्मान गरिएको बताए। प्रतिष्ठानले भाषा, साहित्य, कला र संगीतको उन्नयनमा योगदान गर्नेलाई पुरस्कार प्रदान गर्दै आएको छ।

प्रकाशित: ३० चैत २०८० ७:३१ | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast