
काठमाडौँ- स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आइतबार नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ३५ हजार छ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँले वृद्धि भएको छ।
यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सय रुपैयाँले बढेर एक लाख ३४ हजार नौ सय ५० रुपैयाँ निर्धारण भएको छ। शुक्रबार तेजाबी सुन एक लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भई कारोबार भएको थियो। चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघका अनुसार चाँदीको मूल्य आइतबारका लागि प्रतितोला एक हजार छ सय ७० रुपैयाँ निर्धारण भएको छ। शुक्रबार चाँदीको मूल्य एक हजार छ सय १५ रुपैयाँमा कारोबार भएको थियो।