निर्वाचन आयोगले माग्यो राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न सुझाव

हिमाल प्रेस ७ चैत २०८० १५:०६ | Wednesday, March 20, 2024
निर्वाचन आयोगले माग्यो राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न सुझाव निर्वाचन आयोग

काठमाडौँ– निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन गर्न सुझाव माग गरेको छ। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा समयानुकूल संशोधन र परिमार्जन गर्नुपर्ने भएकाले आयोगले बुधबार राजनीतिक दल, नागरिक समाज, आम सञचार जगत, सम्बद्ध निकाय तथा सरोकारवालाहरूसँग सुझाव माग गरेको हो।

आयोगका अनुसार दलको व्यवस्थापन र नियमन सबैको साझा सरोकारको विषय भएको हुँदा मौजुदा कानुनमा संशोधन गर्नुका लागि सुझाव मागिएको हो।

राजनीतिक दलको गठन, दर्ता र सञ्चालनमा मौजुदा कानुनमा रहेका कमीकमजोरी र अपर्याप्तताका कारण दलहरूको आन्तरिक लोकतन्त्रबारे चासो प्रकट हुँदै आएको आयोगको विज्ञप्तिमा उल्लेख छ। साथै दलको सदस्यता, दलको कोष र राजनीतिक वित्त व्यवस्था, दलको विधान कार्यान्वयन, विवाद निरुपण, निर्णयको अभिलेखीकरण, स्वेच्छिक आर्थिक सहयोग र पारदर्शिताबारे पनि प्रश्न उठ्दै आएको आयोगले जाएको छ।

सम्पत्ति विवरणसम्बन्धी व्यवस्था, निर्वाचन घोषणापत्र र कार्यान्वयन, दलत्याग तथा नयाँ दल दर्तासम्बन्धी व्यवस्था, लेखा र लेखा परीक्षण, एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रावधान, दलको आचारसंहिता, राज्य कोषबाट दलहरुलाई अनुदान दिने लगायतका विषयमा थप छलफल गरी ठोस र उपयुक्त निष्कर्षमा पुग्न आवश्यक भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

दलहरूको दर्ता व्यवस्थापन र नियमनलाई अझ बढी प्रभावकारी बनाउन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा संशोधन गर्न आयोगले सम्बन्धित निर्वाचन आयुक्तको संयोजकत्वमा ऐन संशोधन निर्देशन समिति र आयोगका सचिवको संयोजकत्वमा ऐन संशोधन मस्यौदा समिति गठन गरी आवश्यक कार्य प्रारम्भ गरिएको आयोजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ७ चैत २०८० १५:०६ | Wednesday, March 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast