गठबन्धन तोडेर प्रचण्डले ठूलो धोका दिए : पूर्णबहादुर खड्का

हिमाल प्रेस २७ फागुन २०८० १७:४८ | Sunday, March 10, 2024
गठबन्धन तोडेर प्रचण्डले ठूलो धोका दिए : पूर्णबहादुर खड्का

सुर्खेत- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रले मतदातालाई राजनीतिक रुपमा ठूलो धोका दिएको बताएका छन्।

उनले यसपटक नेपाली कांग्रेसलाई मात्र नभई निर्वाचनका बेला मतदातालाई दिएको बचनबाट माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राजनीतिक रुपमा ठूलो धोका भएको बताएका हुन्।

आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उपसभापति खड्काले भने, ‘यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ।’

उपसभापति खड्काले तीन तहका सरकार बनाउँदा जनतासँग गरिएका बाचाका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए। ‘कांग्रेससँगको गठबन्धन तोड्नुको कारण राजनीतिक दृष्टिकोणले प्रचण्डले आफ्ना धारणा राख्नुहोला’, उनले भने।

निर्वाचनका बेला संविधानले जनतालाई दिएको अधिकार कार्यान्वयन गर्ने, आवश्यक कानुन निर्माण गरेर संघीयता कार्यान्वयन गर्ने, पाँच वर्षमा आम मतदातालाई प्रगतिको बाटोमा अघि बढाउने बाचा गरेर जनतासँग मत मागिएको स्मरण गरेका छन्।

उपसभापति खड्काले असंवैधानिक तरिकाले पटकपटक संसद् विघटन गर्ने, संघीयता कार्यान्वयन नगर्ने, संविधानलाई गलत बाटोतर्फ लैजाने, लोकतन्त्रलाई अन्य दिशातर्फ मोड्न थालिएपछि संविधानको रक्षा, संघीयता कार्यान्वयन र मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि विचार मिल्ने राजनीतिक शक्तिहरु प्रतिगमनका विरुद्ध मिलेर तीनै तहको निर्वाचनमा जनतासँग मत मागिएको उल्लेख गरे।

निर्वतमान उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहएका खड्काले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको शीर नझुक्ने गरेर काम गरेको दाबी गरेका छन्।

प्रकाशित: २७ फागुन २०८० १७:४८ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast