महोत्तरी- जय शम्भो ! जय भोलेनाथ !! एउटै वाणी, एउटै पुकारा। आज महाशिवरात्रि पर्वमा मधेसका प्राचीन मिथिलाक्षेत्रका शिवालय भक्तजनको जयजयकारले गुञ्जायमान छन्। महाशिवरात्रि पर्वका अवसरमा महोत्तरीका प्राचीन शिवालय जलेश्वरनाथ, टुटेश्वरनाथ, मङ्गलनाथ, सिद्धनाथसहितका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।
जलेश्वरनाथ जलेश्वर–१, टुटेश्वरनाथ बर्दिबास–५, मङ्गलनाथ सोनमा–६ र सिद्धनाथ मन्दिर भङ्गाहा–५ मा पर्छन्। यी शिवालयमा गए रातिदेखि नै धार्मिक अनुष्ठान र मङ्गलगान हुँदैछ। शिवालय परिसरमा बिहीबार एक हजार आठ कन्याले पवित्र नदीबाट नयाँ माटोका घडामा भरेर ल्याएको पवित्र जलले सेचन गरिएको छ। तीन दिन उत्सवमय मनाइने महाशिवरात्रि पर्वमा धार्मिक मेला आयोजना गरिएका छन्। जताततै शिव महिमाका भजन गुञ्जिएका छन्।
यसैगरी गेढाभेटपुरस्थित धष्णेश्वरनाथ, बर्दिबास–३ र मण्डलस्थित इन्द्रेश्वरनाथ, बर्दिबास–१४ को कामेश्वरनाथ र भङ्गाहाको सीतापुरस्थित सन्तानेश्वरनाथ महादेव मन्दिर परिसरमा हजारौँ सङ्ख्यामा दर्शनार्थी पुगेका छन्। बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको जलेश्वरनाथ मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बताए।
मिथिलामा महाशिवरात्रि पर्व सम्पन्न गरिएलगत्तै १५ दिने मिथिला माध्यमिकी परिक्रमा प्रारम्भ हुन्छ। फागुन आँैशीका दिन धनुषाको ठेराकचुरीस्थित रामजानकी मठबाट अवधविहारी (श्रीराम) को प्रतिमा राखिएको डोला बोकेर निस्कने साधुसन्त र श्रद्धालु भक्तजनको भीडमा जनकपुरधामस्थित अग्नीकुण्ड मठबाट किशोरीजी (सीताजी) को प्रतिमा राखिएको डोला अघि लगाइन्छ। यो यात्रामा बाजागाजासाथ जानकी मन्दिर, राममन्दिर, जनक मन्दिर र जनकपुरस्थित पवित्र तलाउ गङ्गासागर र धनुषसागरको प्रदक्षिणा गर्दै धनुषाकै हनुमानगढीमा रात्रि बास गरिन्छ। यो बाससँगै मिथिला माध्यमिकी परिक्रमा फागुन शुक्लपक्षभरि प्राचीन मिथिलाका विभिन्न तीर्थस्थलको परिक्रमा गरेर जनकपुर नै पुगेर टुङ्ग्याइन्छ। यो माध्यमिकी यात्रा आइतबार सुरु हुँदैछ।
मिथिला माध्यमिकी परिक्रमामा महोत्तरीको मटिहानीमा चौथो दिन यात्रीटोली पुग्ने परम्परा छ। पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको बाससँगै महोत्तरीको यात्रा पूरा हुन्छ। त्यसैगरी धनुषामा पहिलो दिन हनुमानगढी, नवौँ दिन पर्वता, १०औँ दिन धनुषाधाम, ११औँ दिन सतोखर, १२औँ दिन औरही र अन्तिम १५ औँ दिन जनकपुरको रङ्गशाला मैदानमा रात्रिबासको परम्परा छ। एक सय ३३ किलोमिटर वृत्तमा परिक्रमा गरिने यो धार्मिक यात्रामा मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिबास गरिन्छ।
दोस्रो दिन कल्याणेश्वर (कलना), तेस्रो दिन फूलहर (गिरिजास्थान), १३औँ दिन करुणा र १४औँ दिन विसौल रात्रिबासको परम्परा छ। यस यात्रामा २६ किमी भारतमा र बाँकी नेपालका महोत्तरी र धनुषा जिल्लामा पर्दछन्। पहिलो मधेस प्रदेशसभाले नै प्रदेशको राजधानी जनकपुरधाम तोक्दा नेपालतर्फका परिक्रमा घेराभित्रका भूभाग समेटेर परिभाषित गरेको साहित्यकार डा राजेन्द्रप्रसाद विमलले बताए।
पूर्वमा कल्याणेश्वर, पश्चिममा जलेश्वरनाथ, उत्तरमा क्षीरेश्वरनाथ र दक्षिणमा सतोखरनाथ यस क्रममा प्रदक्षिणा गरिने शिवालय हुन्। महाशिवरात्रिको तयारीमा रहेका मैथिललगत्तै सुरु हुने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागतका लागि पूर्व तयारी गर्दैछन्। मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई रात्रिबासमा स्थानीयले बासस्थान, भोजन, पानी, प्राथमिक स्वास्थ्योपचारको प्रबन्ध गर्ने चलन छ। महाशिवरात्रि र माध्यमिकी परिक्रमा आपसी द्वेष हटाउन, मानवीय सेवामा लाग्न उत्प्रेरित गर्ने पर्व मानिन्छन्। परिक्रमा समापनसँगै उल्लासको पर्व फागु मनाइन्छ। रासस