नयाँ गठबन्धनबारे बाबुरामकाे टिप्पणी : जरा गाड्दै गरेको गणतन्त्रलाई झन् कमजोर पार्ने खतरा

हिमाल प्रेस २२ फागुन २०८० ९:५६ | Tuesday, March 5, 2024
नयाँ गठबन्धनबारे बाबुरामकाे टिप्पणी : जरा गाड्दै गरेको गणतन्त्रलाई झन् कमजोर पार्ने खतरा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले सत्ता लिप्साका निम्ति पटक-पटक मञ्चन हुने फोहोरी खेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने टिप्पणी गरेका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा)सहितको नयाँ सत्ता गठबन्धन साेमबार बनेपछि बाबुरामको उक्त टिप्पणी आएको हो।

उनले नेपाली ‘किस्सा कुर्सीका’ ले केही दशक पहिले चर्चित हिन्दी फिल्मलाई पनि जित्ने भयो भन्दै व्यङ्ग्यसमेत गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘नेपाली ‘किस्सा कुर्सीका’ ले केही दशक पहिले चर्चित हिन्दी फिल्मलाई पनि जित्ने भो! केही चतुरहरूको निकृष्ट सत्तालिप्सा निम्ति पटक‍-पटक मञ्चन हुने यस्ता फोहाेरी खेलले भर्खर जरा गाड्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने,जनता र नयाँ युवा पुस्तामा वितृष्णा बढाउने र प्रतिगमनको आधार तयार पार्ने खतरा झन् बढ्ने भयो।’

प्रचण्डले साेमबार नै एक कार्यक्रममा नयाँ गठबन्धनलाई ‘ठूलो उथलपुथल’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको डा‍.भट्टराईले आलोचना गरेका छन्। उनले लेखेका छन्,‘केही निरीह सांसदको पोको बोकेर एउटासँग गठबन्धन गर्दा ‘संविधान र लोकतन्त्रको रक्षानिम्ति’ भन्ने अनि केही महिनाभित्र अर्कोसँग घाँटी जोड्दा ‘वामपन्थी/कम्युनिस्ट एकतानिम्ति’भन्ने ! यस्तो नाङ्गो अवसरवादलाई जनयुद्धको गौरवशाली विरासतसँग जोडेर उल्टै ‘ठूलो उथलपुथल’ भन्ने! बिचरा सोझा कार्यकर्ता किंकर्तव्यविमूढ बनेर मन लागिनलागी ताली ठोक्ने! यो प्रसिद्ध उपन्यास ‘एनिमल फार्म’ को नयाँ संस्करण नभए के हो? अलिकति पनि अग्रगामी चेत र राजनीतिक मूल्यमान्यता बाँकी रहेकाहरूले भन्नैपर्छ- अब अति भो! Enough is Enough!’

प्रकाशित: २२ फागुन २०८० ९:५६ | Tuesday, March 5, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast