![काठमाडौँमा मनाइयो २५ औँ यदु स्मृति दिवस](https://himalpress.com/wp-content/uploads/2024/03/adu-smrit-diwas-1.jpg)
काठमाडौँ- पत्रकार तथा साहित्यकारसमेत रहेका यदुकुमार गौतमको सम्झनामा आइतबार २५औँ यदु स्मृति दिवस मनाइएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे प्रमुख आतिथ्यमा काठमाडौंस्थित प्रेसिडेन्सियल बिजनेस स्कुल थापागाउँमा रुकुमवासीहरूले स्मृति दिवस मनाएका हुन्।
कार्यक्रममा बोल्दै सभामुख घिमिरेले छलफलमा रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून पीडितलाई न्याय हुनेगरी निर्माण गरिनुपर्ने बताए। पीडितलाई न्याय दिने उद्देश्य लिएकाहरु सरकारमा हुँदा पनि कानून निर्माण नहुनु र पीडितले न्याय नपाउनु दुःखद् भएको उनको टिप्पणी थियो।
यस वर्षको २२ औँ यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार टीका विष्टले पाएकी छन्। यदु स्मृति प्रतिष्ठनकी अध्यक्ष सुजता गौतम र सभामुख देवराज घिमिरेले विष्टलाई १५ हजार नगदसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन्।
२५ वर्षअघि आजकै दिन तत्कालीन नेकपा (एमाले) रुकुमका सचिव रहेका यदु गौतमलाई २०५५ फागुन २१ मा तत्कालीन नेकपा माओवादीले हत्या गरेको थियो।
उनको स्मृतिमा हरेक वर्ष फागुन २१ गते प्रतिष्ठानले मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ।