संस्थाको हित प्रतिकूल गतिविधि गर्नेले उचित ढंगले दण्डित हुनुपर्छ : प्रधानसेनापति

हिमाल प्रेस ९ फागुन २०८० २०:१५ | Wednesday, February 21, 2024
संस्थाको हित प्रतिकूल गतिविधि गर्नेले उचित ढंगले दण्डित हुनुपर्छ : प्रधानसेनापति

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले सुरक्षामा देखिएका चुनौतीहरूको सामना गर्ने क्षमता विकास गर्दै लैजानुपर्ने बताएका छन्। सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भइरहेको सि.सं.३० कमाण्ड तथा स्टाफ तालिमका सहभागी शिक्षार्थीहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानसेनापति शर्माले जलवायु परिवर्तन, बसाइँसराइ, खाद्य तथा ऊर्जा सुरक्षा, विभिन्न किसिमका अतिवादी विचारधाराहरूसँग जोडिएका गतिविधि, मानव स्वास्थ्यसँग सम्बन्धित जटिलताहरू, सूचना प्रविधिको दुरुपयोग आदिका कारण चुनौती सिर्जना भइरहेको बताए। उनले योसँगै शस्त्रास्त्रको होडबाजीको पुनरावृत्तिले विश्वभर सुरक्षा चुनौतीको रूप ग्रहण गर्दै आइरहेकोले रणनीतिक तथा सुरक्षा अध्ययनका विद्यार्थीहरूले सोही अनुरूपको तयारीपन र प्रतिकार्य क्षमता विकसित गर्ने योजनाहरूको तर्जुमा गर्न सक्नुपर्ने उल्लेख गरे।

उनले तालिममा सहभागी नेपाली सैनिक अधिकृतहरूलाई नेपाली सेनाका पछिल्ला पहलताहरू र प्रमुख गतिविधिहरूको बारेमा जानकारी गराउँदै जनतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रिय हितहरूको प्रवर्द्धन हुने ढंगले काम गर्न निर्देशन दिए।

व्यक्तिगत फाइदाका लागि संस्थाको हित प्रतिकूल गतिविधि गर्नेले उचित समयमा उचित ढङ्गले दण्डित हुनुपर्ने उनले बताए। उनले संस्थाको चेन अफ कमान्डभित्रै सबै खाले समस्याको समाधान मिल्नेबारे प्रस्ट रहन अधिकृतहरूलाई सुझाव दिए।

तालिममा नाइजेरिया, केन्या, माल्दिभ्स, भारत, पाकिस्तान र दक्षिण कोरियाका एक/एक जना सहित ६ जना (महिला एक जना) विदेशी शिक्षार्थी अधिकृतहरू सहभागी छन्। यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभागका एक/एक जना र नेपाली सेनाका ५३ जना समेत कुल ६२ जना (महिला दुई जना) शिक्षार्थीहरू तालिमरत छन्।

प्रकाशित: ९ फागुन २०८० २०:१५ | Wednesday, February 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast